‘चैते’ भन्दा पार्टीभित्र दुईवटा गुट जन्मिन्छन् : नारायणकाजी

२० असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश)ले जनयुद्धपछि एकताको प्रक्रियाबाट एमाओवादी बन्नेहरुलाई ‘चैते’ एवं ‘भाग खान आएका’ भन्ने हो भने पार्टीभित्र स्वाभाविकरुपमा दुईवटा गुट जन्मिने बताउनुभएको छ । ’एकताको प्रक्रियाबाट आउनुभएका साथीहरुलाई अहिले ठूलो पीडाको अनुभूति भएकै छ ।’

ललितपुरको हरिसिद्धीस्थित आफ्नै निवासमा विहीबार अनलाइनखरसँग विशेष कुराकानी गर्दै उपाध्यक्ष श्रेष्ठले भन्नुभयो- ‘जनयुद्ध गरेका साथीहरुले ल यी चैतेहरु भाग खान आए, यी त हाम्रा दास हुनुपर्ने वा दोस्रो दर्जाको नागरिक हुनुपर्ने वा दोस्रो दर्जाको पार्टी सदस्य हुनुपर्ने भनेर सोच्ने हो भने स्वाभाविकरुपमा जनयुद्ध गरेर आएका र जनयुद्ध नगरी आएका दुईवटा गुट बन्दै जान्छन् ।’

उपाध्यक्ष श्रेष्ठले भन्नुभयो-’यस्तो गर्नु हाम्रो पार्टीका लागि घातक हुन्छ, कुनै पनि हातमा यस्तो गरिनुहुँदैन । म यसबारेमा नेतृत्व र सबै क्रान्तिकारी साथीहरुलाई विशेष अनुरोध गर्न चाहन्छु हामीले धेरै काम गर्न बाँकी छ । त्यसैले यस्तो संकीर्ण गुट बन्न दिनुहुँदैन ।’ प्रचण्ड नेतृत्वको माओवादीसँग पार्टी एकता गर्नेबेलामै आफूहरुमाथि यस्तो उत्पीडन हुन सक्ने आँकलन गरिएको र केही कालसम्म यस्तो पीडा सहने धैयर्ताका साथ पार्टी एकता गरिएको श्रेष्ठले बताउनुभयो । अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराईले पदत्याग गरेपछि पदाधिकारीको बैठकमा आमन्त्रितका रुपमा सहभागी भैरहन अप्ठ्यारो हुने उहाँले बताउनुभयो । साथै आफू यतिबेला ५७ वर्ष पुगेको र ६५ वर्षसम्म सक्रिय राजनीतिबाट अलग नहुने उहाँले बताउनुभयो ।

आगामी साउन ४ गते हुने विस्तारित बैठकले पार्टीभित्रका सबै समस्याहरु हल गर्न नसक्ने र त्यहाँ संगठनको विषयमात्रै मुख्य हुने भएकाले आफूले उठाउँदै आएको राष्ट्रिय स्वाधीनताबारे छलफल गर्न चुनावपछि अर्को विस्तारित बैठक बोलाइनुपर्ने उहाँले बताउनुभयो । उपाध्यक्ष प्रकाशले माओवादीका महासचिव रामबहादुर थापा वादल आफ्नो निवासमा कहिलेकाहिँ खाना खानेगरी आउने गरेको तर, माओवादीसँग पार्टी एकताबारे छलफल नचलेको स्पष्ट पार्नुभयो ।

(उपाध्यक्ष श्रेष्ठसँगको अन्तरवार्ता केहीबेरपछि अनलाइनखबरमा प्रकाशित हुने छ ।)

– See more at: http://www.onlinekhabar.com/2013/07/89746/#sthash.mG6kkqFk.dpuf

कमेन्टहरु
Loading...