चिनको कुन्मिङ—पोखराबीच भगिनी सम्वन्ध गाँस्न एक टोलि चिन प्रस्थान

पोखरा, १८ असार /चिनको कुन्मिङ शहरसँग भगिनी सम्वन्ध स्थापित गर्न पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीसहितको एक टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भगिनी सम्वन्धलाई औपचारिकता दिन, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीसहित १५ सदस्यीय टोली आज चिनको कुन्मिङ शहर प्रस्थान गरेको हो ।

भगिनी सम्वन्धलाई विधि रुपमा स्थापित गर्न कुन्मिङ शहरका मेयर र कार्यकारी अधिकृत अधिकारीबीच आउँदो शुक्रबार हस्ताक्षर हुँदैछ । त्यस्तै, कुन्मिङका पर्यटन व्यवसायीसँग अन्तरक्रिया गर्ने र कन्मिङ माउण्टेरिङ एसोसिएनले आयोजना गरेको सिआयोजि माउण्टेन फेष्टीवल लगाएतका कार्यक्रममा सहभागी हुने नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए ।

टोलीले चिनका राजदुत चुन्ताईसँग काठमाडौंस्थित चिनिया राजदुतावासमा आज भेट गरेको छ । भेटका क्रममा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले कुन्मिङ भ्रमणको उद्देश्य र चिनियाँ सहयोगको बारेमा जानकारी गराए । उनले फर्केर आएपछि पोखरामा चिनियाँ सुचना केन्द्र स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै, नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले पोखरा र कुन्मिङबीच भगिनी सम्बन्ध स्थापना भएपछि चिनियाँ पर्यटकको संख्या अझै बढ्ने अपेक्षा गरे ।

भेटवार्ताका क्रममा चिनियाँ राजदुत चुन्ताईले कुन्मिङ भ्रमण सफलताको शुभकामना व्यक्त गर्दै पोखराको विकासको लागि चिनियाँ सरकारको तर्फबाट सहयोग प्रदान गर्न सक्दो पहल गर्ने बताए । युआन प्रान्तमा पर्ने कुन्मिङसँगको भगिनी सम्वन्धले पोखराको विकासमा योगदान पुग्ने विश्वास टोलिको नेतृत्व गर्नुभएको पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीको छ ।
अधिकारीका अनुसार जिरोकिमी—हरिचोकसम्मको सडकलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, हल्लनचोक देखि विजयपुरसम्म सोलार बत्ती राख्ने, फेवातालमा मिसिएका ढलहरुलाई ‘डाइभर्ट’ गरी फुस्रेखोलामा मिसाउने र पोखराको चार वटा मुख्यचोकमा आकाशे पुल राख्ने योजनाको अध्ययन गरी निर्माण गर्न चिन सरकारलाई आग्रह गरिनेछ ।

त्यसैगरी पोखराको फोहोर व्यवस्थापनको लागि १७ वटा सवारी साधन उपलब्ध गराउन चिनसँग आग्रह गरिसकेको अधिकारीले जानकारी दिए । नगरपालिकाले पृथ्वीचोक, सभागृह, महेन्द्रपुल र चिप्लेढुङ्गामा आकाशे पुल निर्माण गर्ने योजना बनाएको छ । भगिनी सम्वन्ध जोड्नको लागि पोखरा उपमहानगर पालिका र दक्षिण कोरियाका तीन वटा शहर र टर्कीको एउटा शहरसँग पनि प्रक्रिया अगाडि बढेको छ ।

 

कमेन्टहरु
Loading...