कम्युनिष्टले धतुरो रोपेर अम्बा फलाउन खोजे : श्रेष्ठ

१७ असार, काठमाडौं । नागरिक समाजका अगुवा एवं वामपन्थी बुद्धिजीवी श्याम श्रेष्ठले नेपालका कम्युनिष्टहरुले धतुरोको बिरुवा रोपेर अम्बा फलाउन खोजेको बताउनुभएको छ । नेपालका सबै कम्युनिष्ट दलहरुले समाजको प्रगतिशील रुपान्तरणमा ध्यान नदिएको हुनाले उनीहरुलाई सच्याउन अब राम्रा मान्छेहरुले एकै ठाउँमा उभिएर प्रयत्न गर्नुपर्ने श्रेष्ठले बताउनुभयो ।shrestha

नवगठित ‘प्रगतिशील रुपान्तरण आन्दोलन’को बहस डबलीमा ७ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गर्दै श्रेष्ठले नेपालका कम्युनिष्ट दलहरुमा विचलन आएको बताउनुभयो । आफूहरुले पटक-पटक डेलिगेसन गएर दबाव दिँदा पनि कम्युनिष्ट पार्टीहरु नसच्चिएको भन्दै उहाँले अब दबाव मात्रै दिएर नहुने भएकाले समाजवादी सोचाइ भएका नागरिकहरुले संगठित भई समाजवादी विचारको रक्षाका लागि काम गर्नुपर्ने बताउनुभयो ।

‘धतुरोको विरुवा रोपेर अम्बा फलाउन सकिँदैन, हाम्रा कम्युनिष्ट पार्टीहरुले सिंहदरबारलाई बदल्न सकेनन्, बर सिंहदरबार पसेर आफैं बदलिए ।’- श्रेष्ठले भन्नुभयो ।आगामी संविधानसभाको चुनावमा राम्रा मान्छेलाई जिताउन र अग्रगामी संविधान निर्माणमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने श्रेष्ठले बताउनुभयो । ‘हामीले दबाव समूहमात्रै बनाउन खोजेका हैनौं नेतालाई गालीमात्रै गर्न खोजेका पनि हैनौं । समाज रुपान्तरणमा सक्रिय भूमिका खेल्नुपर्छ भन्ने हाम्रो धारणा रहँदै आएको छ ।’ श्रेष्ठले बताउनुभयो ।

– See more at: http://www.onlinekhabar.com/2013/07/88670/#sthash.crIroMYy.dpuf

कमेन्टहरु
Loading...