नेकपा माओवादीको बैठक जारी, बहिस्कार कै पक्षमा

सागर राज तिमिल्सिना
पोखरा, १७ असार/नेकपा–माओवादीका अधिकांश केन्द्रिय सदस्यहरु निर्बाचन बहिस्कारको प्रस्तावको पक्षमा उभिएका छन् । पोखरामा जारी केन्द्रिय कमिटीको बैठकमा अधिकांश केन्द्रिय सदस्य निर्बाचन बहिस्कार कै पक्षमा उभिए पछि अध्यक्ष मोहन बैद्यको निर्बाचन बहिस्कार गर्ने प्रस्ताव पारित हुने प्राय निश्चित भएको छ ।

सोमबार छलफलमा सहभागी करिब ४० केन्द्रिय सदस्य मध्ये एक जना पनि निर्बाचनमा भाग लिनु पर्ने पक्षमा बोलेनन् । नेताहरुले अहिलेको अवस्थामा चुनावमा सहभागि हुनुको अर्थ नरकेको दावि गरेका छन् । कतिपयले जनविद्रोहको कार्यदिशा पारित गरेर शसस्त्र जनयुद्ध मै जानु पर्ने धारणा राखेका छन् भने केही नरम पन्थी केन्द्रिय सदस्यले सरकार र शिर्ष दलहरुसंग वार्ता र सम्वादमा जानु पर्ने बिचार राखेका छन् ।

अध्यक्ष र महासचिव रामबहादुर थापाको प्रतिवेदन माथि केन्द्रिय सदस्यहरुले बहिस्कारको पक्षमा उभिएको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् । उनले देशलाई सिक्किमीकरण गर्ने उद्देश्य सहित हुन लागेको निर्बाचनमा जनताले नै भाग नलिने दावी पनि गरिन । सोमबार बोल्ने अधिकांश केन्द्रिय सदस्यले एमाओवादीसंग पार्टी एकीकरण गर्नै नहुने धारणा राखे ।

१८ गतेसम्म चल्ने केन्द्रिय कमिटी बैठकमा संविधान सभा निर्बाचन कसरी हुन नदिने भन्ने बिषय मै केन्द्रित छ । आफुहरुले असहमित जनाउदा जनाउदै निर्बाचनको मिति घोषणा गरिएकाले निर्बाचन हुन नदिने रणनीति बनाउनु यो बैठकको मुख्य उद्देश्य रहेको एक केन्द्रिय सदस्यले बताए । सोमबार सम्म ९० भन्दा बढि केन्द्रिय सदस्यहरुले धारणा राखीसकेका छन् ।

कतिपय नेताले पार्टी विभाजनको औचित्य पुष्टी गर्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेको सदस्यहरुले बताएका छन् । पार्टी विभाजनका बेला कार्यकर्तामा भएको उत्साह अहिले निराशामा परिणत भएको र नेतृत्वले पार्टी विभाजनको औचित्य पुष्टी गर्न नसकेको सदस्यहरुले टिप्पणी गरेका बताइएको छ ।

कमेन्टहरु
Loading...