बाबुरामलाई फकाउन एमाओवादीमा बैठकै बैठक

१६ असार, काठमाडौं । पदत्याग गरेका उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई फकाउन एकीकृत नेकपा माओवादीको आन्तरिक छलफल चलिरहेको छ । विहान पदाधिकारी बैठक बसेको थियो भने अहिले विभिन्न चरणमा छलफल भइरहेको छ । छलफलमा भट्टराई स्वयम पनि सहभागी हुनुहुन्छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पदाधिकारीहरुले विभिन्न व्यूरो तथा राज्य समितिका नेताहरुसँग सामूहिक र अलग अलग छलफल गरिरहेका छन् ।

‘विहानैबाट विभिन्न चरणमा छलफल भइरहेको छ । छलफल बाबुरामजीलाई राजीनामा फिर्ता गराउन केन्द्रीत छ’ एक नेताले अनलाइनखबरलाई भने-’जिम्मेवारी बाँडफाँडमा सहमति गरेर उहाँको घोषणा फिर्ता गराउनुको विकल्प छैन ।’ शीर्ष नेताहरुबीच विभिन्न चरणको छलफल जारी रहेकाले ३ बजे बोलाइएको केन्द्रीय समितिको बैठक सुरु हुन भने ढिलाई हुने भएको छ । बैठकका लागि नेताहरु भेन पार्टी कार्यालय पेरिसडाँडा पुगिसकेका छन् । भट्टराईले केन्द्रीय समितिको बैठक चलिरहेका बेला हिजो विचार राख्ने क्रममा आफु पार्टीको साधारण सदस्यमा मात्रै बस्न चाहेको भन्दै राजीनामा दिएको घोषणा गर्नु भएको थियो ।

भट्टराईले पार्टीभित्र पदलोलुपता र संसदीय खेल बढेकाले आफूलाई दिक्क लागेको भन्दे बैठकमै पद त्यागको घोषणा गर्नु भएको थियो । पदीय बाँडफाँडमा विवाद भएपछि अध्यक्ष प्रचण्डले पार्टी महासचिवको जिम्मेवारी पोष्टबहादुर बोगटीलाई नै दिने र सचिवहरुमा कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी र गिरिराजमणी पोख्रेलको नाम प्रस्ताव गर्नुभएको थियो । यस्तै कोषाध्यक्षका लागि हिसिला यमीको नाम सिफारिस भएको छ । अध्यक्ष प्रचण्डलेे पदाधिकारी ९, पूर्ण स्थायी २५, सात वैकल्पिक स्थायी, ५१ पोलिटब्युरो, २४ वैकल्पिक पोलिटब्युरो र एक सय ५१ पूर्ण केन्द्रीय सदस्य रहने साङ्गठनिक प्रस्ताव पेश गर्नुभएको थियो । – See more at: http://www.onlinekhabar.com/2013/06/88012/#sthash.fy6AxM7G.dpuf

कमेन्टहरु
Loading...