सुकिला मान्छेलाई समेत लाग्यो असार १५

१५ असार, काठमाडौं । दही चिउरा खाने असार, १५ अर्थात धान दिवसका दिन भक्तपुरमा भव्यताका रोपाईंको आयोजना भयो । बाजा गाजासहित भक्तपुरको ब्रम्हायणी परिसरमा १० औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव गरिएको हो । प्रत्येक वर्ष असार १५ का दिन काठमाडौं उपत्यकाबाट नजिक पर्ने जलमग्न खेतमा शहरबाट रोपाईको उल्लास मनाउन जानेहरुको भीड लाग्न थालेको छ । यो दिनमा सक्कली किसानहरुलाई साँच्चै नै असारको चटारो हुन्छ भने विभिन्न नेता, कलाकार र खेती किसानी छाडेकाहरु पनि रमाइलोका लागि हिलोमा पस्ने र फोटो खिचाउने गर्छन्, जसले गर्दा असार १५ विस्तारै एउटा मनोरञ्जनात्मक पर्वजस्तो बन्दै जान थालेको छ । उत्पादनको एउटा महत्वपूर्ण हिस्सा ओगटेको धान खेतीलाई प्रोत्साहन दिने हेतुले वर्षेनी धान दिवस मनाउने गरिएको छ । धान उत्पादनमा बृद्धि गरी राष्ट्रिय अर्थतन्त्रको समृद्धिको नाराका साथमा यस वर्ष भक्तपुरमा धान दिवस मनाइएको हो ।

दिवसका अवसरमा विभिन्न जिल्लावाट आएका प्रतिनिधिहरुले आफ्नो कौशल प्रस्तुत गरेका थिए । यस्तो दिवस मनाएर मात्रै कुनै औचित्य नहुने भन्दै उत्पादन बढाउन सरकारले बेलैमा विउ र मलखादको व्यवस्था गर्नु पर्ने ताथलीका कृषक श्रीकृष्ण केसीले अनलाइनखबरलाई बताउनुभयो । सरकारले समयमा कुनै पनि वाली लगाउने बेलामा मलखादलगायत बिउ बिजनको ब्यवस्था नगर्ने र यस्ता दिवसमात्रै मनाउने कार्यले कुनै पनि हालतमा धानको उत्पादनमा वृद्धि हुन नसक्ने केसीको गुनासो छ । नेपालमा धानको उत्पादन वृद्धि गर्नका लागि किसानदेखि सरकारसम्म सबैले सचेत हुनुपर्ने वाली विज्ञ भोलामान सिंहले बताउनुभयो ।

सिंहका अनुसार हाल नेपालमा २५ हजार मेटि्रक टन धान उत्पादन हुने गरेको छ । धान नै नेपालको अर्थतन्त्रको मेरुदण्ड भएका कारण यसको जगेर्ना गर्ने र उत्पादनमा वृद्धिका लागि सबैले लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । विगतमा असारका बेला पानीको अभाव झेल्नुपरे पनि यसपालि बेलैमा मनसुन शुरु भएकाले कृषकहरुले पानीको खासै अभाव महसुस गर्नु परेको छैन । अझ असार १५ कै दिन राजधानी वरपर बिहानैदेखि पानी परेकाले कृषकहरु घुम ओढेर खेतमा काम गर्न निस्किएको दृश्यले साँच्चैको असार १५ लाई झल्काएको थियो । हेर्नुहोस् भक्तपुरको रोपाईँका केही दृश्य – See more at: http://www.onlinekhabar.com/2013/06/87607/#sthash.fp0cotQG.dpuf

कमेन्टहरु
Loading...