१३ वर्षीया बालिका गर्भवती, दुई जना पक्राउ

रञ्जन अधिकारी

पोखरा, १७ चैत /पोखरा कुँडहरबाट १३ वर्षीया गर्भवती बालिकाको बिहीबार उद्धार गरिएको छ । कास्की स्थित महिला तथा बालबालिका क्षेत्रमा क्रियाशील संघसंस्थाले गर्भवती बालिकालाई उद्धार गरी संरक्षणका लागि राखेका छन् । गर्भवती बनाउने पुरुषलाई पनि आवश्यक कारबाहीका लागि अगाडी बढाईएको छ ।

आफ्नी सानीमाको घरमा बस्दै आएकी ति बालिकाको पेटमा झण्डै पाँच महिनाको बच्चा रहेको पोखरा लेखनाथ महानगरपालिका सामाजिक शाखा कार्यक्रम अधिकृत दुर्गा न्यौपानेले बताईन् । डेरा नजिकै मजदुरी गर्ने रौतहट गौरका लच्छु पासवानले आफ्नो बच्चा रहेको स्विकार गरेका छन् । यद्यपी उनले सहमतिमै यौन सम्बन्ध कायम भएको जिकिर गरे ।

वैदेशिक रोजगारीका लागि १० वर्षदेखि कुवेतमा रहेकी आमाले ध्यान नदिएको र बाबुले पनि अर्की श्रीमती लिएर हिँडेपछि चार वर्षदेखि ति बालिका सानीमाको घरमा बस्दै आएकी थिईन् । कास्कीकै अर्मला घर भएकी बालिका अभिभावक नभएपछि सानीमाको घरमा बस्दै आएपनि सानीमाबाट पनि राम्रो व्यवहार नभएको गुनासो गरिन् ।

बालिकाको पेट बढ्दै गएपछि जाँच गराउँदा बच्चा रहेको थाहा भएपछि होली खेल्न गौर पुगेका लच्छुलाई पोखरा बोलाईएको थियो । ३० वर्षीय उनले घरमा दुई छोरी र श्रीमती रहेको जानकारी गराए । बच्चाको बुबाआमा पनि नभएको र सानीमाले पनि राम्रो नगर्ने भएकाले सबैले नराम्रो नजरले हेर्ने भएकाले आफू नजिक भएको र रक्सी खाँदा सम्बन्ध भएको उनले स्विकार गरेका छन् ।

केन्द्रिय बाल कल्याण समितिका बाल अधिकार स्रोत व्यक्ति बद्री वाग्लेले बालविवाह, बलात्कार लगायतका घटना बढ्दै गएको जनाउँदै सहमतिमै भएपनि उमेर नपुगेका बालिकासँग करणी गरे बलात्कार नै ठहर्ने बताए ।

महानगरपालिका कार्यालय, जिल्ला बालकल्याण समिति, महिला तथा बालबालिका कार्यालय, पोखरा उद्योग वाणिज्य संघ, बालश्रम न्यूनिकरण कार्यक्रम, ईन्सेक, जिल्ला प्रहरी कार्यालय, थ्री एन्जल्स नेपाल लगायत संस्थाका प्रतिनिधि पुगेर बालिकाको उद्धार गरेका थिए । बालिकाकी सानीमा र गर्भवती बनाउने पुरुषलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा राखिएको छ ।

कमेन्टहरु
Loading...