प्रहरीकी श्रीमतीको शंकास्पद मृत्यु, हत्या भएको भन्दै किटानी जाहेरी

भरतपुर, १७ चैत /तनहुँको देवघाट गाउँपालिका ५, देवघाटस्थित प्रहरी जवानकी श्रीमतीको शंकास्पद मृत्यु भएको छ । प्रहरी जावन घनश्याम बस्नेतको घरमा उनकी २४ वर्षीया श्रीमती सुष्मा बस्नेत आइतबार दिउँसो सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। सलको गाँठो राम्रोसँग नबाँधिएको, नाकबाट रगत बगेर छाती भिजेको, रगतको छिटा नजिकैको विस्तारामा परेको, ओठ सुन्निएर निलो भएको र मुख सुन्निएको अवस्था शव भेटिएपछि मृतकका माइती पक्षले मृत्यु शंकास्पद ठहर्‍याएका छन्। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

माइतीका तर्फआट मृतकका बाबु श्यामबहादुर क्षेत्रीले मृतकका श्रीमान घनश्याम, ससुरा चन्द्रबहादुर, सासु कलावती बस्नेत र अमाजु तारा पन्तविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय चितवनमा हत्या आरोपमा किटानी जाहेरी दिएका छन्। भारतको आसाममा रहेका श्यामबहादुर मंगलबार राति भरतपुर आइपुगेपछि उनले बुधबार प्रहरीमा किटनी जाहेरी दिएका हुन्।
उनको जाहेरीपछि प्रहरीले घनश्याम, चन्द्रबहादुर र ताराका श्रीमान नवीन पन्तलाई पक्राउ गरी हिरासतमा राखेको छ।

घटनास्थलको मुचुल्कापछि सोमबार भरतपुर ल्याइएको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ। बिहीबार बिहान पोष्टमार्टम गरी भिसेरा परीक्षणको लागि शवका भित्री अंग काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय भरतपुरमा मृतकका माइती पक्ष र आफन्त एवम् नातेदारको भीड बुधबार साँझसम्मै थियो। स्याङ्जाको फेदीखोला गाउँपालिका ४, पौवा निवासी श्यामबहादुरले आफ्ना चार छोरा र तीन छोरीमध्ये माहिली सुष्माको विवाह २०६९ सालको वैशाखमा प्रहरी जवान घनश्यामसँग गरिदिएका थिए। बिहेपछि सुष्माले जन्माएको छोरी खुसी अहिले साढे तीन वर्षकी भइन्।

घटनाका बेला घरमा खुसीबाहेक कोही नभएको मृतककी दिदी सुमित्रा क्षेत्रीको भनाइ छ। ‘बहिनी झुण्डिएको घटना आइतबार दिउँसो दुई बजेतिर भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालयमा भेटिएकी उनले भनिन्, ‘मैले साँझ पाँच बजेतिर बहिनीलाई फोन गर्दा नउठेपछि ज्वाईंलाई फोन गर्दा बल्ल घटनाबारे थाहा भयो।’

सुमित्राका अनुसार, घटनाका बेला सुष्माको घरमा उनका श्रीमान्, सासु, ससुरा, अमाजु कोही पनि थिएनन्। सुष्माका श्रीमान् घनश्यामले फोनमा आफू जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा रहेको र आफूलाई केही थाहा छैन भनेको सुमित्राले सुनाइन्।

कमेन्टहरु
Loading...