बिग आइकनको टिकटबाट संकलन रकम ‘बालश्रम न्यूनिकरण कार्यक्रम’लाई

पोखरा, १६ चैत /सातौँ सँस्करणको बिग आइकनको ग्राण्ड फिनाले अन्तरगत उठेको सम्पूर्ण रकम पोखरा उद्योग वाणिज्य संघ मातहत रहेर संचालनमा आएको बालश्रम न्यूनिकरण कार्यक्रमलाई जाने भएको छ । बिग आइकनको आयोजक संस्था बिग एफएमले सामाजिक उत्तरदायित्व अन्तरगत सो रकम बालश्रम न्यूनिकरण कार्यक्रमलाई हस्तान्तरण गर्ने जनाएको हो ।

करिब दुई महिनायता संचालनमा आएका बिग आइकनको सातौँ सँस्करणको ग्राण्ड फिनाले कार्यक्रम आगामी चैत १८ गते शुक्रबार पोखरा सभागृहमा हुँदैछ । विशेष समारोहका बीच बिग आइकन घोषणा गर्ने कार्यक्रममा त्यहाँ बेचिने टिकटको सम्पूर्ण रकम यो कार्यक्रमलाई जाने एफएमका अध्यक्ष महेश भण्डारीले जानकारी दिए । यो पटक बिग आइकनको ग्राण्ड फिनालेमा सहभागिता जनाउनका लागि प्रति व्यक्ति ५० रुपैया टिकट दर राखिएको छ ।

‘हामीले सामाजिक उत्तरदायित्व वहनको हिसाबले यस्तो खाले कन्सेप्ट ल्याएका हौँ ।’ बिग एफएमका अध्यक्ष महेश भण्डारीले भने–‘बालश्रम न्यूनिकरणका लागि हामीले सानो कदम मात्र चालेका हौँ । र, हामीले अन्य व्यक्ति तथा संस्थाहरुले पनि बालश्रम न्यूनिकरणका लागि केहि योगदान गरुन् भन्ने चाहना सहित यो अवधारणालाई अगाडि बढाएका हौँ ।’

बिग आइकन र बालश्रम न्यूनिकरण कार्यक्रमबीच यस्तो खाले सहकार्य भएको यो सहित चौथो पटक हो । तेस्रो बिग आइकनदेखि उद्योग वाणिज्य संघ मातहत रहेको बालश्रम न्यूनिकरण कार्यक्रमलाई बिग एफएमले ‘आइकन’मार्फत सहयोग जुटाउँदै आएको छ । तेस्रो बिग आइकनको ग्राण्ड फिनालेबाट उठेको ४२ हजार ६४ रुपैयाँ, चौथो बिग आइकनमा ४२ हजार ४ सय ६० रुपैयाँ र छैठौँ बिग आइकनमा २८ हजार ३ सय ५० रुपैयाँ एफएमले यो कार्यक्रमलाई उपलब्ध गराईसकेको छ ।

‘बालश्रम न्यूनिकरणका लागि विभिन्न दाताहरुको सहयोगमा थालेको यो अभियानमा सहयोग गरेर बिग एफएमले निकै ठुलो योगदान पु¥याएको छ ।’ बालश्रम न्यूनिकरण कार्यक्रमका परियोजना सँयोजक भक्तराज रसाईलीले भने–‘बालश्रम न्यूनिकरणको हाम्रो अभियानलाई साथ दिँदै गर्दा बिग एफएमले अरु धेरैलाई पनि यसप्रति आकर्षित गराएको हामीले पाएका छौँ ।’

ग्राण्ड फिनालेको दिन सम्पूर्ण टिकट विक्रिको जिम्मा पनि ‘बालश्रम न्यूनिकरण कार्यक्रम’ले नै लिएको छ । टिकट तयार भैसकेको उसले जानकारी दिएको छ । २०५६ सालदेखि सेवा दिएको यो कार्यक्रममार्फत हालसम्म ६ हजारभन्दा बढि बालबालिका लाभान्वित भैसकेका छन् । अहिले यो कार्यक्रम अन्तरगत ४ सय भन्दा बढि बालबालिकाहरुले प्रत्यक्ष सेवा लिईरहेका छन् ।

बिग आइकनको ग्राण्ड फिनाले नजिकिँदै गर्दा आयोजक बिग एफएम पनि तयारीमा तिव्रताका साथ लागिपरेको छ । यो पटक बिग आइकनको ग्राण्ड फिनालेमा चितवनका सागर आले, पोखरा संगमटोलकी प्रिया गुरुङ र लेखनाथका सुवास गुरुङ भिड्दैछन् ।

कमेन्टहरु
Loading...