स्थानीय तहको नयाँ संरचना बुझाउन कार्यकारीलाई अभिमुखीकरण

पोखरा, १५ चैत /स्थानीय तहको नयाँ संरचना अनुसार देशभरका कार्यकारी अधिकृतहरुलाई मंगलबार देखि अभिमुखीकरण शुरु भएको छ । सातै प्रदेशमा सञ्चालन भएको तालिमाको उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले उद्घाटन गरे । नगरकोटबाट सातै प्रदेशमा भिडियो लाइभ मार्फत उद्घाटन गरेका थिए ।

प्रदेश नं. ४ भित्रका स्थानीय निकायका अधिकृतका लागि स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी तीन दिने अभिमुखीकरण पोखरामा सुरु भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको संयुक्तरूपमा आयोजित अभिमुखीकरणमा प्रदेश नं– ४ भित्रका १२ जिल्लाका स्थानीय विकास अधिकारी र गाउँ तथा नगरपालिकाका कार्यकारी अधिकृतको सहभागिता छ ।

मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले तीन दिने अभिमुखीकरणका क्रममा रूपान्तरित संरचनाअनुसार स्थानीय तहबाट गर्नुपर्ने कामका बारेमा आउने कठिनाइ लगायतका विषयमा छलफल जानकारी दिइएको बताए ।

मन्त्रालयका उपसचिव विष्णुदत्त गौतमले अभिमुखीकरणमा सङ्घीयता र स्थानीय शासन, सेवा प्रवाह तथा वातावरण व्यवस्थापन, समाजिक सुरक्षा, ‘ई’ गभर्नेन्स, स्थानीय तहको सङ्क्रमणकालीन योजना, प्रक्रिया र कार्यान्वयन लगायतका विषयमा छलफल गरिने बताए ।

उपसचिव प्रदिपकुमार निरौलाले राज्य रूपान्तरणको आभास सर्वसाधारणलाई दिने दायित्व स्थानीय तहका कर्मचारीमा आएको बताउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि सो कार्यक्रम सञ्चालन गरेको बताए ।

कमेन्टहरु
Loading...