चलचित्र ‘वनफूल’को विशेष प्रदर्शनी पोखरामा हुँदै

पोखरा, १५ असार/सेती बाढी स्मृति कोष’को सहयोगार्थ असार २२ गते नेपाली कथानक चलचित्र ‘वनफूल’को विशेष प्रदर्शनी पोखरामा हुने भएको छ । आज भएको पत्रकार भेटघाट कार्यक्रममार्फत् चलचित्रका निर्माता तथा कलाकार मदन बरालले सो कुराको जानकारी दिनुभएको हो ।

चलचित्र मनोरञ्जनको साधन मात्र नभै, यसले समाज रुपान्तरण र समाज सेवामा पनि उक्तिकै महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने कुरालाई मध्यनजर गर्दै चलचित्र ‘वनफूल’को विशेष प्रदर्शनी गरिन लागेको निर्माण पक्षले जानकारि दिएको छ । रेडियो अन्नपूर्णसँगको सहकार्यमा ‘सेती बाढी स्मृती कोष’को सहयोगार्थ हुन लागेको चलचित्रको विशेष प्रदर्शनीको टिकट बिक्रि भइरहेको र सोही दिन हल बाहिर पनि टिकट बिक्रिमा राखिने छ । पोखरा सभागृहको हलमा चलचित्रको प्रदर्शन गरिन लागिएको हो ।

चलचित्रलाई १२ बजे र ३ बजे गरि दुई सो प्रदर्शन गरिने छ । चलचित्र प्रदर्शनीको दिन काठमाडौंबाट चलचित्रका कलाकारहरु तथा प्राविधिकहरुको पनि सहभागिता रहने छ । जीवनसाथी फिल्मस् र शैली थिएटरको संयुक्त प्रस्तुति रहेको चलचित्रलाई मदन बराल र बी.बी. बस्नेतले निर्माण गरेका हुन् । यस चलचित्रलाई राजिव मानन्धरले खिचेका हुन् भने सम्पादन चन्दन दत्तले गरेका हुन् ।

देवेन्द्र राईको संगीतमा वनफूलको शिर्ष गीत राजेश पायल राईले गाएका छन् । अर्को एउटा गीतमा भने सन्तोष लामाको स्वर रहेको छ । चलचित्रका दुबै गीतलाई महेश पौड्यालले लेखेका हुन् । महेश पौड्यालकै कथामा पटकथा एवं सम्वाद लेख्ने र निर्देशन गर्ने काम भने लामो समयदेखि काठमाडौंमा रङ्गमञ्चमा सक्रिय शैली थिएटरका निर्देशक नवराज बुढाथोकीले गरेका छन् ।

चलचित्रमा सुनिल पोखरेल, महेश श्रेष्ठ, मन्जु देवकोटा, मदन बरालको साथमा बासुदेव खनाल, अशोक शिवाकोटी, मन्जु गिरी, शुशिला रिमाल, समन्त आचार्य, सरोज गोले लगाएतको अभिनय रहेको छ ।

कमेन्टहरु
Loading...