प्रथम अलि मियाँ स्मृति फुटबल प्रतियोगिता शुरु

पोखरा, १३ चैत/ लोककवि अलि मियाँको सम्झनामा पोखरामा आयोजना गरिएको प्रथम अलि मियाँ स्मृति सेभेन ए साइड फुटवल प्रतियोगिता आइतबारदेखि शुरु भएको छ। अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानको आयोजना तथा मुस्लिम युवा क्लवको संयोजनमा प्रतियोगिता गरिएको हो। प्रतियोगितामा ४० टिम सहभागि छन्।

पोखरा लेखनाथ महानगरपालिका–१३ स्थित माछापोखरीस्थित खेल मैदानमा शुरु भएको प्रतियोगिता १९ गतेसम्म चल्नेछ।
प्रतियोगिताको बिजेताले एक लाख २५ हजार र उपबिजेताले ७० हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै, सर्वोत्कृष्ठ खेलाडीले तीन हजार र उत्कृष्ठ डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र गोलकिपरले समान दुई हजार पाँच सय रुपैयाँको साथमा ट्रफी पाउनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न ६ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी झलक सुवेदीले रेफ्री शुशील केसी र भक्तबहादुर गुरुङलाई फुटबल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेका छन्। कार्यक्रममा उनले लोकसाहित्यको विकासमा लोककवि अलि मियाँले निर्बाह गरेको भुमिका बिर्सन नसकिने बताए।
त्यसअवसरमा जानकी एग्रो प्रोडक्ट प्रालिका अध्यक्ष दिपक तिमिल्सिनाले पनि बोलेका थिए।

अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको कार्यक्रममा मुस्लिम युवा क्लवका अध्यक्ष अफजल हसन मियाँले स्वागत र कोषाध्यक्ष कमरुद्विन मियाँले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...