चलिए पोखरा अभियान वनारसमा

सागर राज तिमिल्सिना
वनारस, १२ असार/भारतीय पर्यटकलाई लक्षित गर्दै बनारस आईपुगेको पश्ञ्चिमाञ्चल होटल संघको टोली र भारतको प्रसिद्ध धार्मिकस्थल वनारसका ब्यवसायि तथा संचारकर्मीबीच मंगलबार अन्तरक्रिया सम्पन्न भयो । संघले गत बर्षदेखि बढी भन्दाबढी भारतीय पर्यटकलाई नेपाल त्यसमा पनि पोखरामा भित्राउने लक्ष्यसाथ थालेको चलिए पोखरा अभियानलाई यसबर्ष पनि निरन्तरता दिने क्रममा कार्यक्रम भएको हो । वनारसलगायत अन्य भारतीय शहरमा अभियान लिएर संघको टोली सोमबार यहाँ आईपुगेको थियो ।

IMG_3619वनारसको होटल सिटी ईनमा आयोजित कार्यक्रममा दुर्बतर्फका ब्यवसायीबीच आपसी सम्बन्धलाई सुमधुर बनाउँदै अघि बढ्ने बिषयमा छलफल भएको थियो । उक्त अवसरमा नेपाल पर्यटन बोर्डका पुर्व कार्यकारी सदस्य बासु त्रिपाठीले समग्र पोखराको बिशेषताबारे जानकारी गराउनु भएको थियो । नेपाल पर्यटन बोर्डका प्रतिनिधि गोविन्दराज वलीले नेपाल भारतबीचको सम्बन्धका बारेमा बोल्दै पोखरा तथा नेपाल घुम्नकालागि उपयुक्त स्थान रहेको भन्दै हिमालको चिसो हावामा रमाउनकालागि नेपाल आउन अनुरोध गर्नुभयो ।

संघका अध्यक्ष एवं अभियानका संयोजक हरिप्रसाद शर्मा गैह्रेले संघले गत बर्षदेखि सुरु अभियानलाई निरन्तरता दिंदै भारतीयमाझ पोखराको स्वागत सत्कार तथा पोखराको आकर्षणका बारेमा जानकारी दिने उद्देश्यले यहाँसम्म आएको बताउनु भयो । वनारसी होटल संघका अध्यक्ष देवेन्द्रनरायण सिंहले पश्चिमाञ्चल होटल संघ पोखराले नेपाल आउनकालागि आजबाट फेरी ढोका खोलेको भन्दै यसमा आफु तथा बनारसीलाई पोखरा जान आब्हान गर्नुभयो ।

उहाँले नेपाल र नेपालीको आतिथ्यतालाई प्रशंशा गर्दै निरन्तरताकालागि सुझाव दिनु भयो ।
कार्यक्रममा बनारसी ब्यवसायी तथा संचारकर्मीको उल्लेख्य सहभागिता थियो । चलिए पोखरा अभियान यही असार १४ गतेसम्म सञ्चालन हुने र बुधवार भारतको ईलाहावाद र त्यसपछि फैजाबादमा अभियान सञ्चालन हुने संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिनुभयो । गतवर्ष पनि संघले भारतका तीन ठूला शहर– गोरखपुर, लखनउ र कानपुरमा चलिए पोखरा अभियान सम्पन्न गरेको थियो ।
संघले नेपाल पर्यटन बोर्डसँग मिलेर यो अभियान अगाडि बढाएको हो । क्षेत्रीय पर्यटन प्रवद्र्धनको अभियान अन्तर्गत चलिए पोखरा नारा दिएर अभियान पुनः सुरु भएको र बर्षेनी निरन्तरता दिईने पराजुलीले बताउनुभयो ।

कमेन्टहरु
Loading...