पाक हिमाल चढ्न गएका एक नेपाली मारिए, अन्य आठ नेपाली आरोही सकुशल

सुवेल भण्डारी काबुल, असार ९/

पाकिस्तानको नाङ्गा पर्वत चढ्न जाँदा अन्य नौ विदेशी आरोहीसँगै एक नेपाली आरोही सोना शेर्पा पनि मारिएका छन् । नाङ्गा पर्वत आरोहणका लागि गएका अन्य आठजना शेर्पा भने सकुशल छन् ।अज्ञात समूहले आइतबार १ बजे राति बसिरहेकै होटेलमा आएर सबै आरोहीहरुलाई गोली हानेर मारेको पाकिस्तानी अधिकारीहरुले जानकारी दिए । विश्वकै ९औ अग्लो हिमाल नाङ्गा पर्वत चढ्न आरोही बेस क्याम्पमा अवस्थित एक होटेलमा थिए। अरु मारिनेहरुमा ५ युक्रेनियन, ३ चिनियाँ र एक लाट्भियन(रसियन छन्। एक पाकिस्तानी सेफ पनि गोलीले मारिएका छन्, भने एक चिनियाँ पनि बाँच्न सफल भए।

सोनासँगै अन्य आठ जना शेर्पा र तीनजना चिनियाँलाई नाङ्या पर्वत आरोहणका लागि पठाएको काठमाडौंस्थित सेभेन समिट ट्रेकिङ एजेन्सीका सञ्चालक मिङ्मा शेर्पाले आक्रमणका बेला बाँकी आठजना आरोहणका लागि बाटो बनाउन हिमालतिरै गएकाले बचेको जानकारी दिए । घटना भएपछि पाकिस्तानी सेनाले उद्धार कार्य जारी राखेको पाकिस्तानस्थित सेभेन समिट ट्रेकर्सका संयोजकले जानकारी दिएको मिङ्माले बताए । ‘अहिलेसम्म बाँकी शेर्पालाई सुरक्षित रुपमा तल ल्याइसकेको हुनुपर्छ,’ उनले भने ।

घटनामा मारिएका सोना ३५ वर्षका थिए । उनी काठमाडौंमा स्थायी बसोबास गर्थे । उनका पत्नी र दुई छोरा छन् । ‘यसअघि दुईतीनपटक सगरमाथा चढिसकेका एकदमै कुशल आरोही थिए,’ सोनाबारे मिङ्माले भने, ‘उनले यसअघि पनि नाङ्गा पर्वत चढिसकेका थिए ।’ मिङ्माले सोनाको खबरले एकदमै शोकसन्तप्त भएको बताए । ‘एकदमै नराम्रो घटना भयो,’ उनले सेतोपाटीसँग भने ।

आक्रमणमा मारिएका तीनजना चिनियाँ पर्वतारोही पनि सेभेन समिट ट्रेकर्समार्फत नै नङ्गा पर्वत चढ्न गएको मिङ्माले जानकारी दिए । ‘उनीहरू चीनकै प्रख्यात पर्वतारोही हुन्, आठ हजारभन्दा अग्ला संसारका चौधैवटा हिमाल आरोहण गर्ने उनीहरूको लक्ष्य हो, नङ्गा पर्वत चढ्दा बाह्रवटाको सफल आरोहण हुन्थ्यो,’ उनले जानकारी दिए ।

ट्रेकर्सका अर्का कर्मचारी पेम्बा शेर्माले आरोही चिनियाँहरू धेरैपटक पर्वतारोहणका क्रममा नेपाल आएका र पाकिस्तान जानुअघि सँगै बसेर हाँसखेल ठट्टा गरेको बताए । ‘सोनासँगै मलाई उनीहरूको पनि एकदमै याद आइरहेको छ,’ उनले बताए । सेभेन ट्रेकर्सले नाङ्गा पर्वतपछि पाकिस्तानकै के–२, जि–१, जी–२ लगायतका हिमालमा आरोहण टोली पठाउने तयारी गरेको थियो । तर, यो घटनापछि सेभेन ट्रेकर्सले ती आरोहण स्थगन गरेको छ । ‘यो घटना पाकिस्तान र त्यहाँको पर्यटनका लागि ठूलो धक्का हो, अब त्यहाँ पर्वतारोहणका लागि जान आरोहीहरूले सोच्नुपर्नेछ,’ मिङ्माले भने ।

– See more at: http://setopati.com/raajneeti/1766/#sthash.Gz4gaqNm.dpuf

कमेन्टहरु
Loading...