वडाको संख्या निर्धारण विधेयक पारित

काठमाडौं, चैत ७/गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण विधेयक, २०७३ लाई परिमार्जन सहित सदनको बहुमतले पारित गरेको छ ।उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले उक्त प्रस्तावलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत् गरेका थिए ।

यसअघि, बैठकमा सभामुख ओनसरी घर्तीले सो विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत् गरेकोमा बहुमतले ती संशोधनलाई अस्वीकार गरेको थियो । उक्त विधेयकमाथि १० ओटा संशोधन परेको थियो ।यस्तै, व्यवस्थापिका–संसदले ‘निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३’ लाई पनि बहुमतले पारित गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कानुनमन्त्री नायकले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत् गरेका थिए ।

विधेयकमाथि प्रमुख प्रतिपक्ष दलले राखेको अधिकांश संशोधनलाई सरकारले स्वीकार गरेको हुँदा विधेयक बहुमतका आधारमा पारित भएको हो । यसअघि, मन्त्री नायकले ‘निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत् गरेका थिए ।व्यवस्थापिका–संसदको अर्का बैठक यही चैत ८ गते दिनको १ बजे बस्ने छ ।

कमेन्टहरु
Loading...