कवि समा श्री पोखरामा कविता वाचनमा उभिँदै

पोखरा, ३ चैत/कवि समा श्रीको पोखरामा एकल कविता वाचन हुने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले कवि समा श्रीलाई शनिबार बिहान एकल कविता वाचनमा उभ्याउने भएको हो । झन्डै डेढ दसकदेखि साहित्य लेखनमा क्रियाशील समा श्रीले पछिल्लो समय नेपाली माटो र नारी संवेदनाका पक्षमा कलम चलाउँदै आएकी छन् ।

‘नेपाली साहित्य लेखनमा सक्रिय समा श्री इजरायलमा रहेर नेपाली माटो र नारी संवेदनामाथि कवितामार्फत बलियो प्रवासी धारणा राख्ने कवि हुन्,’ सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीपले भने, ‘घरदेश बाहिर रहेका नेपालीले नेपाललाई कसरी हेरिरहेका छन् भन्ने उनका कवितामा पोखिन्छ ।’

भर्खरैमात्र ‘अल्पविराम’ कविता संग्रह लिएर बजारमा आएकी समा श्रीको यसअघि वंशलोचन कविता संग्रह प्रकाशित भइसकेको छ । काठमाडौंको बालाजुमा जन्मेकी कवि समाका कवितामा प्रेम र नारीवादको कुशल संयोजन पाइन्छ । समकालीन लेखनमा समा श्रीको उपस्थिति गर्विलो रुपमा देखिएको अध्यक्ष समीप बताउँछन् ।

विभिन्न कविका एकल कविता वाचन, साहित्यिक बहस, काव्य गोष्ठी, टिकटमा मुक्तक, पुस्तक प्रकाशन लगायत कार्यक्रम गर्दै आएको पोखराकै पुरानो साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारले यस पटक कवि समा श्रीलाई एकल कविता वाचनमा उभ्याएको हो ।

प्रवासमा रहेका नेपालीले के भन्छन्, कस्ता साहित्य कोरिरहेका छन्, कस्ता दुख खेपिरहेका छन् भन्ने बुझ्न पनि समा श्रीको एकल कविता वाचन महत्वपूर्ण रहेको अध्यक्ष समीप बताउँछन् । पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा बिहान ८ बजे हुने एकल कविता वाचनमा समा श्रीले झन्डै डेढ दर्जन कविता सुनाउने आयोजकले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...