अर्को वर्षदेखि मिर्गौला प्रत्यारोपण निःशुल्क हुने

काठमाडौं, फागुन २६/सरकारले आगामी वर्षदेखि मिर्गौला प्रत्यारोपण सेवा पनि निःशुल्क गर्ने भएको छ । विश्व मिर्गौला दिवसका अवसरमा मानव अङ्ग प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य कर कोषको रकम स्वास्थ्य सेवामा खर्च गर्ने गरी सरकारबाट सञ्चालित अस्पतालबाट वैशाख १ गतेदेखि प्रत्यारोपण निःशुल्क गर्न लागिएको घोषण गरे ।

रोगीका लागि आवश्यक औषधिका सहज बनाउन विश्वका स्थापित औषधि कम्पनीसँग छलफल भइरहेको र छिट्टै निर्णयमा पुग्ने पनि मन्त्रालयले जनाएको छ ।स्थानीय तहसम्म नसर्ने रोगको पहिचानका लागि यसै वर्ष एक हजार स्वास्थ्य चौकीमा सुरु गर्न लागिएको र आउँदो वर्षसम्म सबै स्वास्थ्य चौकीमा सुरु गरिने पनि मन्त्रालयले जनाएको छ ।

स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली भन्ने नारासहित जनचेतनामूलक कार्यक्रम गरेर बिहीबार विश्व मिर्गौला दिवस मनाइएको छ । नेपालमा झण्डै ३० लाख मानिसमा मिर्गौलासम्बन्धी कुनै न कुनैकिसिमको रोग लागेको अनुमान छ भने ३ हजार जनालाई हरेक वर्ष दुवै मिर्गौला फेल हुने गरेको पाइएको छ । मिर्गौला फेल हुने ९० प्रतिशत भन्दा धेरैको केही महिनामा नै ज्यान जाने गरेको पाइएको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक पुकारचन्द्र श्रेष्ठले बताए ।

कमेन्टहरु
Loading...