नेपालमा टेलिफोनमा वार्षिक ८४ अर्ब, इन्टरनेटमा मात्रै १५ अर्ब खर्च

काठमाडौ, २६ फागुन/नेपालीले टेलिफोनमा कुराकानी गरेर मात्रै वार्षिक ८४ अर्ब रुपैयाँ खर्च गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालीको टेलिफोनमा गर्ने कुराकानी (भ्वाइस) मा भएको यो खर्चको सबैभन्दा ठूलो हिस्सा एनसेल र नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को छ।

भ्वाइसमा ठूलो रकम एनसेलका ग्राहकले खर्च गरेका छन् । एनसेलले आर्थिक वर्ष ०७२र७३ मा गरेको कुल ५५ अर्ब ४२ करोडको आम्दानीमा ४७ अर्ब ३९ करोड रुपैयाँ भ्वाइस सेवाबाट मात्रै आर्जन गरेको छ । नेपाल टेलिकमले पनि यो वर्ष गरेको ३९ अर्ब ६८ करोड रुपैयाँको आम्दानीमा भ्वाइस सेवाबाट मात्रै ३४ अर्ब ९८ करोड रुपैयाँ कमाएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

दूरसञ्चार सेवाका प्रमुख प्रतिस्पर्धी टेलिकम र एनसेलको प्रमुख बजार छ । यी दुई कम्पनीको सेवा प्रयोग गरी टेलिफोनमा हुने खर्च मात्रै वार्षिक ८२ अर्ब ३७ करोड रुपैयाँ छ । भ्वाइस सेवाको कुल ८४ अर्ब ३१ करोड रुपैयाँको बजारमा अन्य सेवाप्रदायकको हिस्सा भने एक अर्ब ९४ करोड रुपैयाँ मात्रै छ ।

दूरसञ्चार सेवाप्रदायकमा एनसेल र टेलिकम, युटिएल, स्मार्ट टेलिकम, एसटिएम टेलिकम र नेपाल स्याटलाइट छन् । प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति दिएका यी ६ वटा कम्पनीको टेलिफोन तथा सिमकार्ड वितरण गरेको आधारमा ग्राहक संख्या भने ३ करोड ३० लाख छ । यो संख्यामा मोबाइल सेवाका ग्राहक मात्रै ३ करोड १३ लाख छन् ।

पछिल्लो समय मोबाइल सेवाको प्रयोग बढेको र नेपालीको खर्च पनि मोबाइलकै कारण टेलिफोनमा बढिरहेको छ । दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार नेपालमा यो क्षेत्रबाट हुने वार्षिक आम्दानीको आकार करिब १ खर्ब रुपैयाँको छ ।

यो रकममा सबैभन्दा ठूलो हिस्सा भ्वाइसकै छ । अन्तर्राष्ट्रिय प्रचलन भने भ्वाइसभन्दा इन्टरनेट प्रयोगकर्ता बढी हुन्छन् । विकसित मुलुकमा धेरै सेवा इन्टरनेटका माध्यमबाट हुने भएकाले पनि डाटामा बढी खर्च गर्छन् । नेपालमा डाटा प्रयोगकर्ता विस्तारै बढ्न थाले पनि अझै भ्वाइसकै बजार हिस्सा प्रमुख छ । इ–गभर्नेन्सको प्रयोग बढ्ने, सबै सेवा इन्टरनेटबाटै हुने र सेवाप्रदायकले डाटाकै माध्यमबाट विश्वास जित्न सक्दैनन् तबसम्म भ्वाइसको डोमिनेट रहने प्राधिकरणको भनाइ छ ।

भ्वाइस सेवामा टेलिकम र एनसेलपछि युनाइटेड टेलिकम लिमिटेड ९युटिएल० मा भएको खर्च ४ करोड ८८ लाख छ भने स्मार्ट टेलिकममा भएको खर्च ८८ करोड ७५ लाख रुपैयाँ छ । स्मार्ट टेलिकमले गत वर्ष ०७२र७३ मा भ्वाइस र डेटामा गरी कुल १ अर्ब १० करोड रुपैयाँ आम्दानी गरेको तथ्यांकले देखाएको छ । स्मार्टका सेवाग्राहीको संख्या १४ लाख ४३ हजार छन् । स्मार्टको १ लाख १७ हजार डाटा प्रयोगकर्ता छन् । स्मार्टको डाटा सेवा भने ग्रामीण क्षेत्रलाई केन्द्रित गरी प्रयोगमा आएको छ । स्मार्ट टेलिकमले गर्त वर्ष गरेको कुल आम्दानीको २० प्रतिशत डाटामा रहेको अनुमानका आधारमा यसको भ्वाइस र डाटाको आम्दानी अनुमान गरिएको छ ।

इन्टरनेटमा मात्रै १५ अर्ब
विभिन्न इन्टरनेट सेवाप्रदायक (आइएसपी) र दूरसञ्चार कम्पनीले दिएको डाटा सेवाको प्रयोग गरी नेपालीले इन्टरनेटमा वार्षिक १५ अर्ब ३५ करोड रुपैयाँ खर्च गर्ने गरेका छन् । यो खर्चमा पनि स्मार्ट टेलिकमले ग्रामीण क्षेत्रमा दिएको डाटा सेवामा उसको कुल एक अर्ब १० करोड रुपैयाँको आम्दानीको २० प्रतिशतका दर अनुमान गरिएको छ । इन्टरनेट सेवामा नेपालीले सबैभन्दा बढी एनसेलकै लागि खर्च गरेका छन् ।

कमेन्टहरु
Loading...