प्युरीदोभान फागु पूर्णिमा मेलाको तयारी पूरा

पोखरा, २५ फागुन /चैतको २८ गतेदेखि स्याङ्जाको टक्सारमा ऐतिहासिक प्युरीदोभान फागु पूर्णिमा मेला हुने भएको छ। मेलाको संपूर्ण तयारी पूरा भएको मेला संयोजक खिमबहादुर गुरुङले बताए। संयोजक गुरुङका अनुसार मेलाको पूर्वसन्ध्यामा मेलास्थलको सरसफाई, स्टल तथा अस्थायी शौचालयको निर्माण, मञ्च व्यवस्थापन, खानेपानीको प्रबन्ध, सुरक्षा टोली, कलाकार तथा अतिथिहरुका लागि होमस्टेको प्रबन्ध लगायत संपूर्ण तयारी पूरा गरिएको छ।

स्थानीय ब्राइट फ्युचर युथ क्लब टक्सार–१ दाङलिङले आयोजना गर्ने मेलामा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर, गाउँस्तरिय भलिबल, छेलो फाल्ने र दुईसय मिटर दौड प्रतियोगिता, स्थानीय झाँकी, कृषि औजार प्रदर्शनी, लोकदोहरी तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरु मेलाको मूख्य आकर्षण रहने क्लबका अध्यक्ष बिनोद गुरुङले बताए।

गाउँस्तरिय भलिबल प्रतियोगिताका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । भलिबलका पहिलो पुरस्कारका लागि टक्सार–७ का केशबहादुर गुरुङ र दोस्रो पुरस्कार टकसार–१ का भोजबहादुर गुरुङले प्रायोजन गरेका हुन्। छेलो प्रतियोगितामा प्रथम पुरस्कार ७ हजार र द्धितिय पुरस्कार ५ हजार नगद तथा मेडल र प्रमाणपत्र रहेको छ। टक्सार–१ पात्ले, स्थानीय कृष्णबहादुर कार्कीले छेलो प्रतियोगिताको पुरस्कार प्रायोजन गरेका छन्।

दुईसय मिटरको छोटो दूरी दौड प्रतियोगिताको प्रथम पुरस्कार ५ हजार र द्धितिय पुरस्कार ३ हजार रहेको छ। दौड प्रतियोगिताका लागि टक्सार–१ की गंगीमाया बोहराले पुरस्कारको प्रायोजन गरेकी छन्। मेलामा स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहनेछ । पोखरेली हाँस्य कलाकारहरुद्धारा मेलामा बेजोड हाँस्य प्रहशन प्रस्तुत गर्ने सांस्कृतिक संयोजक राजकुमार के.सी.ले बताए।

मेलाको अवसरमा हिमालय आँखा अस्पताल घारीपाटन र लायन्स क्लव अफ पोखरा माछापुच्छ«े भिलेजको संयुक्त आयोजनामा फागुनको २९ गते निःशूल्क आँखा शिविर हुने भएको हो। पोखरा–१७ ,बिरौटास्थित नमस्ते अस्पतालको आयोजनामा फागुनको ३० गते निःशुल्क स्वास्थ शिविर हुने मेला संयोजक खिमबहादुर गुरुङले बताए। मेलाको लागि टक्सार गाविस स्याङ्जा, फिरफिरे गाविस तनहुँ, जिल्ला प्रशासन कार्यलय स्याङजा र सुरौदी खोला जलाधार बिकास समितिको सहयोग रहने आयोजकले बताएको छ। मेलाको मूख्य प्रायोजक गण्डकी बस व्यवसायी संघ र सह–प्रायोजक स्याङ्जाको टकसार गाविस रहेको छ। मेला सम्पन्न गर्नका लागि ७ लाख, ७६ हजार खर्च लाग्ने आयोजकले बताएको छ।

पर्यटकीय नगरी पोखरादेखि झण्डै १८ कि.मि. पूर्वी दक्षिण, स्याङ्जाको बाडखोलादेखि २५ कि.मि. पूर्वी तथा तनहुँ दुलेगौंडादेखि १४ कि.मि. पश्चिमतर्फ पर्ने प्युरिदोभान कास्की, स्याङ्जा र तनहुँको संगमस्थल हो। पर्यटकीय संभावना बोकेको प्युरिदोभान कास्की लेखनाथ–१८ को भरतपोखरी, तनहुँको फिरफिरे गाविस र स्याङ्जाको टक्सार गाविससंग जोडिएको प्युरिदोभान प्युरिखोला, टुनीखोला र सुरौदीखोलाको संगमस्थल हो।

स्याङ्जाको टक्सार गाविसलाई ऐतिहासिक गाविसका रुपमा लिइने गरिन्छ। प्राचीनकालमा टक्सार खलङ्गा गाविसको देउराली डाँडामा सैन्य परेड खेल्ने स्थल तथा भवनको भग्नावशेष हालसम्म पनि देख्न सकिन्छ ।  तत्कालीन राजा मानदेवको पालाको सिक्का र बाइसे चौबिसे राज्यको सरकारी प्रशासनिक कार्य सञ्चालन तथा मुद्रा वितरण गर्ने ऐतिहासिक क्षेत्रका रुपमा टक्सारलाई लिइन्छ। प्राचीनकालदेखि उक्त क्षेत्रमा होली पूर्णिमाको भोलिपल्ट होली देवीको पूजा गरि सार्वजनिक मेला लाग्ने प्रचलन रहेको किम्वदन्ती छ ।

कमेन्टहरु
Loading...