एमाले, मोर्चा र प्रहरीको घटनाले राजविराजमा ३ जनाको मृत्यु

राजविहार, २३ फागुन /एमालेको मेची महाकाली अभियान अन्तर्गत सोमबार भएको राजविराजमा भएको घटनामा मर्नेको संख्या तीन पुगेको छ। एमालेको अभियान बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा घटना घटेको हो।

प्रहरी र मोर्चासँगको झपडमा प्रहरीको गोली लागि मृत्यु भएको हो। मृत्यु हुनेमा १८ वर्षीय सञ्जन मेहतासहित अरू २ जना छन्। ‘थप दुई जनाको अस्पतालमा मृत्यु भएको छ,’ सप्तरीको प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले सेतोपाटीलाई बताए। मेहताको घटनास्थलमै मृत्यु भएको हो भने बाँकी २ जनाको अस्पतालमा मृत्यु भएको हो।

राजविराजमा गर्ने भनिएको सभास्थल परिवर्तन गरेर औद्योगिक क्षेत्रमा गरिएको आमसभा बिथोल्न ठूलो संख्यामा मोर्चा कार्यकर्ता पुगेपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो। कार्यकर्तालाई रोक्न प्रहरीले हवाइ फायरिङ गरेको थियो। अश्रूग्यास पनि प्रहार गरेको थियो। यद्यपी मोर्चाका कार्यकर्ता नरोकिएपछि प्रहरीले गोली चलाएको सप्तरीको प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिनाले बताए।

‘प्रहरीले बारम्बार सम्झाउँदा समेत नमानेपछि अश्रुग्यास प्रहार गरेको थियो। अश्रूग्यासले पनि नमानेपछि हवाइ फायरिङ गरेको थियो। हवाइ फायरिङ गरेलगत्तै मोर्चाका कार्यकर्ताले पेट्रोल बम हानेपछि बाध्य भएर रक्षाका लागि प्रहरीले गोली चलाएको हो,’ तिमल्सिनाले भने,‘सुरक्षा निकायले निकै संयमता अपनाउँदा समेत समेत मोर्चाका कार्यकर्ता नियन्त्रण बाहिर जान थालेपछि नहुनु पर्ने घटना घट्यो।’

यता मोर्चाले भने प्रहरीको हुलमा मिसिएका एमाले कार्यकर्तालेनै प्रहरीमाथि ढुंगामुढा गरेको आरोप लगाएको छ। सगरमाथा अञ्चल अस्पतालका अनुसार झडपमा दर्जनौं घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।

कमेन्टहरु
Loading...