व्यापारी अपहरणमा संलग्न युवतीको हत्या

काठमाडौं, २३ फागुन /व्यापारी अपहरणमा संलग्न भएको आरोप लागेर प्रहरीको खोजी सूचीमा रहेकी युवती मृत अवस्थामा भेटिएकी छिन् । उनको हत्या भएको प्रहरीको आशंका छ । भक्तपुरको मुहानपोखरीमा गाडेको अवस्थामा धादिङ धार्के घर भएकी राधिका सुनुवार श्रेष्ठको शव शनिबार भेटिएको हो ।

आजको नयाँ पत्रिकामा नवराज मैनालीले समाचार लेखेका छन् । पानीको मुहानका लागि खाल्डो खनिएको ठाउँमा श्रेष्ठको शव भेटिएको भक्तपुरकी प्रहरी प्रमुख एसपी किरण रानाले बताइन् । स्काभेटर लिएर माटो खन्न त्यहाँ गएका एक व्यक्तिले माटोको थुप्रोमा हात देखेपछि प्रहरीलाई खबर गरेका थिए । आइतबार परिवारले मृतकको सनाखत गरी जाहेरी दिएको एसपी रानाले बताइन् ।

कल डिटेल नपाउँदा अपहरणकारी भागे
अदालतको आदेशमा मात्र प्रहरीले कल डिटेल हेर्न पाउने व्यवस्थाले अग्रवाल अपहरणका अभियुक्त सजिलै भाग्न सफल भएका हुन् । ४ फागुनमा अग्रवालको अपहरण भएकामा ५ गते साँझ मात्र प्रहरीले कल डिटेल पाएको थियो । सोही घटनाबाट प्रहरीले उपत्यकामा पहिलोपटक अदालतबाट आदेश लिएर फोनको कल डिटेल, एसएमस डिटेल तथा लोकेसन हेर्न थालेको हो । अनुसन्धानका लागि अदालतले म्याद थप गरेजस्तै अदालतबाट कल डिटेलका लागि अनुमति लिएर अनुसन्धान थाल्दा ढिला भएको र अपराधी फरार भइसकेको प्रहरी अधिकारीहरूको भनाइ छ ।

युवतीकै सहयोगमा भएको थियो अपहरण

सम्झनाले भेट्न बोलाएपछि मखनमा सारीपसल चलाउँदै आएका न्युरोडका श्यामसुन्दर अग्रवाल गत ४ फागुनमा होटेल गएका थिए । त्यसक्रममा होटेलमा रहेका तीन युवकले उनलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर पैसाको बार्गेनिङ गरेका थिए । घटना सार्वजनिक भएपछि प्रहरीले सम्झनाको खोजी गरिरहेको थियो ।

अपहरणअघिसम्म अग्रवालकै पसलमा सम्झना काम गर्थिन् । त्यसैले सम्झनालाई प्रयोग गरी एक समूहले अग्रवालको अपहरण गरेको थियो । त्यसक्रममा अपहरणकारीले सुन्धाराको सनराइज गेस्टहाउसमा ६ घन्टा बन्धक बनाई नगद र चेक गरी करिब नौ लाख रुपैयाँ असुल गरेका थिए । ७२ हजार रुपैयाँ नगद र आठ लाख रुपैयाँको चेक लिएपछि हातखुट्टा र मुखमा पट्टी बाँधिएकै अवस्थामा अग्रवाललाई होटेलको कोठामा थुनेर अपहरणकारी भागेका थिए ।

कमेन्टहरु
Loading...