‘दामासायी बजेटले विकास भएन’ -धम्पुस बासी

पोखरा, २० फागुन /कास्की धम्पुसका नागरिकले दामासायी बजेटले गाउँको विकास हुन नसकेको गुनासो गरेका छन् । गाविसको सेवा प्रबाह तथा विकास निर्माणका विषयमा शुक्रबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीले प्रत्येक वडामा गाविसले दामासायी बजेट दिँदा प्राथमिकताका योजनामा बजेट नपरेको बताएका हुन् ।

‘२ सय जनसंख्या भएको वडामा पनि २ लाख, ५ सय जनसंख्या भएको वडामा पनि २ लाख बजेट दिँदा आवश्यक्ता कसरी पूरा हुन सक्छ ? स्थानीय पदम गुरुङले भने–दामासायी बजेटले जनतालाई अन्याय भएको छ । यो तत्काल सच्याईयोस् ।’
अर्का स्थानीय बलराम भण्डारीले पनि कानुन विपरित बितरण हुने दामासायी बजेटले विकास निर्माणका काममा प्रभाव परेको बताए । गुनासोको सुनुवाई गर्दै गाविस सचिव बिष्णु प्रसाद अधिकारीले वडा तहबाटै त्यस्तो माग भएका कारण दामासायी विनियोजन गरिएको बताए ।

‘उतिबेलै गैर कानुनी रुपमा बजेट नबाडौं भनेको हो, उनले भने–दामासायी बजेट नदिदाँ परिषद सम्पन्न गर्नै गाह्रो भयो । बाध्यतामा परेको हो । आगामी दिनमा यस्तो गर्दैनौं ।’ वडा तहबाट आएका योजनामा प्राथमिकताका आधारमा बजेट विनियोजन गर्ने उनको प्रतिबद्धता छ । कार्यक्रमका सहभागीहरुले लक्षित बर्गको कार्यक्रमबारे जानकारी नभएको, वडाबाट माग भएका योजनालाई वास्ता नगरिएको, अनुत्पादक क्षेत्रमा बजेट खर्च गरिएको लगाएतका गुनासो गरे ।

जवाफमा सचिव अधिकारीले वडा नागरिक मञ्चमार्फत सबै बजेट तथा कार्यक्रमबारे सर्वसाधरणलाई जानकारी गराउने गरिएको, वडा र बस्तीकै योजनामा बजेट विनियोजन भएको बताए । उनले वडाका माग सम्बोधन गर्दा केही बजेट अनुत्पादक क्षेत्रमा लगानी भएको बताए । ‘वडाका योजना परेन भने हामीले गुनासो सुन्नुपर्छ । सम्बोधन गरे आर्थिक उपार्जन भन्दा सामुदायिक भवनमा बढी लगानी गर्नुपर्छ, उनले भने–आगामी दिनमा वडा भेला अघि नै सर्वसाधारणलाई योजना छनौट बारे अभिमुखीकरण गर्ने ब्यवस्था मिलाउँछौं ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सदस्य बिष्णुबहादुर भण्डारी, नेकपा एमालेका अध्यक्ष बाबुराम भण्डारी, माओबादी केन्द्रका गाउँ अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारी लगाएतले नियमानुसार योजना छनौट र कार्यान्वयनका लागि राजनितिक रुपमा आँफुहरुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । सुसासनका लागि नागरिक समाजका कार्यक्रम अधिकृत भानु पराजुलीले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन पत्रकार प्रकाश ढकालले गरेका थिए ।

कमेन्टहरु
Loading...