सलोमी बाहिरिएपछि बिग आइकनमा उत्कृष्ट ८ को प्रतिस्पर्धा

पोखरा, १८ फागुन/सातौँ सँस्करणको बिग आइकन बन्ने दौडबाट उत्कृष्ट ९ प्रतिस्पर्धीमध्येकी एक सलोमी गुरुङ बाहिरिएकी छन् । सलोमी बाहिरिएसँगै बाँकी ८ जना प्रतिस्पर्धीले अघिल्लो चरणको लागि बुधबार प्रतिस्पर्धा गरे ।

पोखरा औद्योगिक क्षेत्र बस्दै आएकी सलोमीले बिग आइकनमा पहिलोपटक सहभागिता जनाएकी हुन् । चर्चको सेवाकाई गर्ने क्रममा साँगीतिक झुण्डमा गीत गाउँदै आएकी सलोमीले पहिलो पटकमै बिग आइकनको उत्कृष्ट ९ सम्म आउनु आफ्नो लागि ठुलो सफलता भएको प्रतिक्रिया दिईन् । ‘प्रतियोगितामा जित्ने रहर त कसको नहोला र ? यद्यपी म सर्वोत्कृष्ट बन्न नसके पनि मलाई कुनै गुनासो छैन । कारण, मैले बिग आइकनको मञ्चमा आएर आफ्नो प्रतिभालाई राम्रोसँग चिन्ने र सुधार्ने मौका पाएकी छु ।’ बाहिरिँदै गर्दा सलोमीले भनिन् ।

सलोमीले प्रतियोगितामा बाँकी रहेका सम्पूर्ण प्रतिस्पर्धीलाई सफलताको शुभकामना पनि दिईन् । सँगै उनले गायन प्रतिभाहरुको लागि ‘ठुलो मञ्च’ प्रदान गरेको भन्दै बिग एफएमलाई धन्यबाद दिईन् । प्रतियोगितामा आएर गाउँदा विभिन्न खाले ‘कमेन्ट्स’ र ‘कम्प्लिमेन्ट्स’ दिने निर्णायकहरुलाई पनि उनले नमन व्यक्त गरिन् ।

त्यस्तै निर्णायकहरुले पनि सलोमीलाई आगामी दिनमा साँगीतिक भविष्य उज्जवल रहेकोले निरन्तर प्रयास गर्न आग्रह गरेका थिए । सलोमी बाहिरएसँगै अब प्रतियोगितामा पाल्पाका दिनेश बराल, लेखनाथका सौजन्या तामाङ, स्याङ्जाका यामबहादुर नेपाली, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीकबस्तीका सुबास गुरुङ, संगम टोलकी प्रिया गुरुङ र कुश्माका लक्ष्मण दर्जी भिड्दैछन् । अघिल्लो चरण आगामी शुक्रबार हुने एफएमले जनाएको छ । र, सोहि दिन उत्कृष्ट ७ प्रतिस्पर्धी पनि छनौट हुनेछन् ।

कमेन्टहरु
Loading...