अब एक क्लिकमै विदेशी सहयोग थाहा हुने

८ असार, काठमाडौं । वैदेशिक सहायता पारदर्शी नभएको गुनासो बढिरहेको समयमा अर्थ मन्त्रालयले कसले दिएको कति सहयोग कहाँ उपयोग भएको छ भनेर सर्वसाधारणले थाहा पाउन सक्ने प्रणाली लागू गरेको छ । portal.mof.gov.np लग अन गरेर सर्वसाधारणले यो जानकारी लिन सक्छन् । एक वर्षदेखि सरकार र दाताको मात्र पहुँचमा रहेको यो सूचना प्रणाली शुक्रबारबाट सबैको पहुँचमा पुगेको छ ।

उक्त वेभसाइटमा दाताहरुले नेपाललाई दिएको ऋण, अनुदान र अन्य सहयोग इन्ट्री गरेपछि सबैले हेर्न सक्छन् । यो प्रणालीले सरकार र दाता दुवैलाई पारदर्शी बनाउने अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखा सहसचिव मधुकुमार मरासनीले बताउनुभयो । दाताहरुले इन्ट्री गरेको सूचना अर्थ मन्त्रालयले भेरिफाइ गरेर प्रकाशन गर्ने पद्दति निर्माण गरिएको जानकारी उहाँले दिनुभयो ।

यो वेभसाइटमा दाताले उपलब्ध गराएको सूचना मात्र उपलब्ध रहने हुँदा सबै सहयोग रकम जानकारी हुने निश्चित भने गर्न सकिंदैन । चीनले अहिलेसम्म सरकारको यो प्रणालीमा सूचना इन्ट्री गर्ने गरेको छैन । चीनले आफू दाता नभई मित्र भएको नाताले सहयोग गरेको हुनाले सार्वजनिक गर्न आवश्यक नभएको तर्क गर्ने गरेको छ । भारतले पनि धेरै सहयोग जानकारी गराउँदैन ।

अमेरिकाले प्रायः बजेट बाहिरबाट सहयोग गरे पनि यो प्रणालीमा सूचना उपलब्ध गराउने गरेको छ । क्रमशः सबै दातालाई सूचना सार्वजनिक गर्न दबाब पर्ने सहसचिव मरासिनीले बताउनुभयो । ‘अहिले नै सबै सूचना पाउन सकिन्छ भनेर उत्साहित हुन सकिन्न’, उहाँले भन्नुभयो, ‘तर क्रमशः सबै दाता र मित्रराष्ट्र यो प्रणालीमा प्रवेश गर्नेछन् भन्ने हाम्रो विश्वास छ ।’

यो प्रणालीअनुसार कुनै जिल्ला विशेषमा कुन कुन दाताबाट बजेटमार्फत र सोझै के कति ऋण तथा अनुदान प्राप्त भएको छ भन्ने सबैले थाहा पाउन सक्छन् । एउटै परियोजनामा धेरै दाताबाट सहयोग लिने तथा कागजी प्रक्रियामात्र पुर्‍याएर सहयोग लिने प्रवृत्तिलाई यो प्रणालीले निरुत्साहन गर्नेछ । साथै दाताहरुले अन्य दाताबाट नेपालमा के कस्तो सहयोग भइरहेको छ भन्ने सूचना हेरेर आफ्नो निर्णय लिन पनि यसले सहयोग पुर्‍याउने छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/84999/#sthash.euIcXOjU.dpuf

कमेन्टहरु
Loading...