पोखराका पाँच क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

पोखरा १८ फागुन / स्ववियु निर्वाचन अन्तर्गत पोखराका पाँच क्याम्पसमा मतदान सकिएको छ । पोखराको पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस, वनविज्ञान अध्ययन संस्थान, जनप्रिय क्याम्पस र बिन्ध्यावासिनी संस्कृत विद्यापीठमा निर्वाचन सम्पन्न भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु भएको मतदान अपरान्ह ४ बजे निर्वाचन सम्पन्न भएको हो । शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको हो ।

पहिलो पटक स्ववियू चुनाव हुन लागेको जनप्रिय बहुमुखी क्याम्पसमा २२ सय ८९ मतदाता छन् । यो क्याम्पसमा अनेरास्ववियूले विनोद भण्डारी, नेबिसंघ र नयाँ शक्तिले आशिक गुरुङ, अखिल क्रान्तिकारीले विशाल तामाङ, विप्लव निकट क्रान्तिकारीले हरि पौडेल रोहितलाई सभापतिमा उम्मेदवार बनाएका छन् ।

नवौ पटक स्ववियु निर्वाचन हुन लागेको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा १४ सय २९ जना मतदाता छन् । यो क्याम्पसमा यसअघि अनेरास्ववियू तीन, नेवि संघ तीन र क्रान्तिकारीले दुई पटक नेतृत्व गरेको छ । ईञ्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुले ईन्द्र पौडेल, नेविसंघ र नयाँ शक्तिले सुजित कोईराला, अखिल क्रान्तिकारीले साधुराम लामिछाने क्रान्तिकारी विप्लवले सुनिल राईलाई सभापतिमा उठाएको छ ।

१३ औं पटक स्ववियु निर्वाचन हुदै गरेको बनविज्ञान अध्ययन संस्थानमा ३४८ जना मतदाता छन् । २०४३ देखि चुनाव हुन थालेको यो क्याम्पसमा १० पटक अनेरास्ववियू र दुई पटक नेविसंघले नेतृत्व लिएको इतिहास छ । संस्थानमा अनेरास्ववियूका तर्फबाट सभापति विशाल अर्याल नेविसंघका तर्फबाट रमेश बोगटी , अखिल क्रान्तिकारीबाट रोहितराज झा मैदानमा छन् ।

चिकित्साशास्त्र अध्ययन संस्थान ९नर्सिङ० मा दुई सय ६५ मतदाता छन् । १२ औं पटक स्ववियू चुनाव हुदै गरेको नर्सिङ क्याम्पसमा यसअघिका ११ पटक नै अनेरास्ववियूले नेतृत्व सम्हालेको छ । अहिले अनेरास्ववियूले विष्णु देवकोटालाई सभापतिको उम्मेदवार बनाएको छ । नेविसंघबाट सभापतिमा अनामिका राजलक्ष्मी बस्नेत मैदानमा छिन् ।

सातौं पटक निर्वाचन हुने तयारीमा रहेको विन्ध्यावासिनी संस्कृत विद्यापीठमा अहिलेसम्म नेविसंघले एकछत्र नेतृत्व हात पारेको छ । विद्यापिठमा अनेरास्ववियू, अखिल क्रान्तिकारी र प्राज्ञिक विद्यार्थी परिषद् मिलेर अघि बढेका छन् । सभापतिमा प्राज्ञिकका गोपाल गौतम चुनावी मैदानमा छन् भने नेविसंघबाट केशव आचार्य छन् ।

कमेन्टहरु
Loading...