भिटोफ पोखराद्धारा गाउँ पर्यटनका अगुवालाई सम्मान

पोखरा, १६ फागुन /गाउँ पर्यटन प्रबर्धन मञ्च ९भिटोफ० पोखरा शाखाले आइतबार पोखरामा नेपालमा होमस्टेसहित गाउँ पर्यटनका तीन जना अगुवालाई सम्मान गरेको छ । होमस्टेका अगुवा क्याप्टेन रुद्रमान गुरुङको प्रथम वार्षिकि तिथिमा आयोजित कार्यक्रममा उनलाई नेपालका विभिन्न होमस्टेका तीन जनालाई सम्मान गरेको हो । उनको ८६ वर्षको उमेरमा विसं २०७२ फागुन १५ गते निधन भएको थियो।

भारतीय सेनाका रिटायर्ड क्याप्टेन गुरुङले विसं २०५४ देखि स्याङजाको सिरुबारीमा होमस्टे सहित गाउँ पर्यटन सुरु गरेका थिए। त्यसकै सिको गर्दै आज देशभर होमस्टेको लहर चलेको छ। सिरुबारीका १७ घरमा होमस्टे गराइन्छ। कार्यक्रममा तीन वटा होमस्टे गाउँका अगुवाहरुलाई एक्सिलेन्ट लिडरसिप अवार्डले सम्मान गरेको हो ।

निरन्तर गाउँको पर्यटन विकासमा अगुवाई गरेस्वरुप सिरुबारी पर्यटन विकास समितिका पर्यटन संयोजक जुम बहादुर गुरुङ, घलेगाउँ लमजुङको ग्रामिण पर्यटन विकास समितिका अध्यक्ष प्रेमबहादुर घले र चित्रे ग्रामिण पर्यटन होमस्टे विकास समिति पवर्तकी अध्यक्ष सुशीलादेवी गुरुङलाई प्रमूख अतिथि नेपाल पर्यटन बोर्डका प्रमूख कार्यकारी अधिकृत दीपकराज जोशीले एक्सिलेन्ट लिडरसिप अवार्ड प्रदान गरे।

कार्यक्रममा पत्रकार भादगाउँलेको संयोजकत्वमा पर्यटन बोर्डका बरिष्ठ अधिकृत सूर्य थपलिया र भिटोफ पोखराका सचिव रविन्द्रराज पौडेल सदस्य भएको छनोट कमिटिले सम्मानका लागि अगुवा चयन गरेको थियो। कार्यक्रममा पत्रकार अमृत भादगाउँलेले राज्यले भन्दा अगाडि रुद्रमानले होमस्टेसहित गाउँ पर्यटन अबधारणा भित्रएर पर्यटनमा नयाँ आयाम थपेको बताए। उनले गाउँलेहरुले आफ्नै बलबुतामा विकास गरेको होमस्टेलाई पर्यटन कार्यालयमा दर्ता र रिन्यू गर्न समस्या भैरहेको उदाहरण सुनाए। पर्यटन कार्यालयहरु गाउँले मैत्री हुनुपर्नेमा उनले जोड दिए।

त्यस अबसरमा नेपाल पर्यटन बोर्ड पोखराका बरिष्ठ अधिकृत सूर्य थपलियाले गाउँ पर्यटनका लागि पश्चिमाञ्चल क्षेत्र उर्बर रहेको चर्चा गर्दै पर्यटनकर्मीेले होटल र होमस्टेलाई प्रतिस्पर्धीका रुपमा बुझ्न नहुने बताए। उनले भने, ‘ पोखरा सेरोफेरोका गाउँमा एक रात बसेर फर्कँदा ति पर्यटक अर्को रात पोखराका होटलमा पनि बस्छन्।‘ भिटोफ पोखराका अध्यक्ष तारानाथ पहारीले पश्चिम क्षेत्रको गाउँ पर्यटन विकासका लागि हातेमालो गर्न सबैसँग आग्रह गरे।

उनले पश्चिमाञ्चलको गाउँ पर्यटन विकासमा काम गर्ने दुई जना पत्रकारलाई भिटोफले बर्सेनी रुद्रमान गुरुङ स्मृती गाउँ पर्यटन पत्रकारिता पुरस्कार दिने जानकारी गराए। पुरस्कार राशी जनही ११ हजार १ सय ११ रुपैयाँ हुनेछ। कार्यक्रममा प्राध्यापक डा। प्रेम शर्मा, बरिष्ठ पर्यटनकर्मीहरु बासु त्रिपाठी, गणेश भट्राई, पोखरा पर्यटन परिषदका उपाध्यक्ष चिरञ्जीवि पोखरेल लगायतले गाउँ पर्यटन र रुद्रमानको योगदानबारे बोलेका थिए।

कमेन्टहरु
Loading...