फुटबल मैदानसहित प्यारापिट बनाउन ३५ करोड बजेट

स्टेडियम स्ट्रक्चर इन्जिनियर र माटो परीक्षण गर्न छुट्टा छुट्टै संस्थालाई दिईने
यसै आर्थिक वर्षदेखि काम थाल्छौ–पौडेल

धन बस्नेत
पोखरा, १२ फागुन/पोखरा रंगशालाको फुटबल मैदानसहित प्यारापिट निर्माण गर्ने योजना छ । साग फुटबल पोखरा गर्ने लक्ष्यसहित खेलकुद मन्त्रालयले मैदानसहित प्यारापिट निर्माण गर्न ३५ करोड बजेट छुट्टाएको छ । यद्यपी पहिलो काम भने डिपिआर(डिजेल प्रोजेक्ट रिपोर्ट)को बनाउने जिम्मा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई दिइएको छ ।

‘आईतबारदेखि डिपिआर बनाउने काम थाल्ने छौं ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले भने–‘काठमाडौंकै कम्पनीले गर्ने छन् । राष्ट्रिय खेलकुद परिषदले नै खटाउने छ ।’ एक÷डेढ महिनाभित्रमा डिपिआर तयार पर्ने लक्ष्यसहित काम अगाडि बढाउने उनको भनाई थियो । डिपिआर जतिसक्यो छिटो बनाई मन्त्रालयमा पेश गरेर साग फुटबलसम्म प्यारापिट निर्माण गर्ने योजना रहेको अध्यक्ष पौडेलले स्पष्ट पारे ।

पोखरा रंगशाला तस्बिरः सन्जय शाक्य
पोखरा रंगशाला तस्बिरः सन्जय शाक्य

डिपिआरको लागि १५ लाख छुट्टाइएको छ । तर समितिलाई मन्त्रालयले एक करोड उपलब्ध गराईदिएको छ । डिपिआरबाट बचत रकम निर्माणाधिन भलिबल प्रशिक्षण केन्द्रमा खर्च गरिने उनले सुनाए । ‘आएको बजेट डिपिआरसँगै भलिबल प्रशिक्षण केन्द्रको अधुरो काम पुरा गर्ने छौं ।’ उनले भने¬–‘यसै आर्थिक वर्षदेखि नै निर्माण शुरु गर्ने छौं ।’ स्टेडियम स्ट्रक्चर इन्जिनियर र माटो परीक्षण गर्न छुट्टा छुट्टै संस्थालाई दिईने उनले बताए । मन्त्रालयले साग खेलकुद प्रतियोगिता अन्तर्गतको बजेट पोखरालाई उपलब्ध गराउने प्रतिबद्धता गरेको हो ।

गत बुधबार पोखरा रंगशालास्थित क्षेत्रीय खेलुदक विकास समितिको कार्यालयमा बसेको बैठकले पोखरामा भौतिक पुर्वाधार निर्माण गर्न बजेट उपलब्ध गराउने प्रतिबद्धता गरेका हुन् । बैठकमा मन्त्रालयका सचिव, राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी लगायतको उपस्थिति थियो । महिला साग फुटबल, भलिबल, आर्चरी लगायतका विभिन्न खेल पोखरामा गर्ने निर्णय राष्ट्रिय खेलकुद परिषदले यस अघि नै निर्णय गरिसकेको छ ।

फेरिने भो त अब पोखरा रंगशाला अनुहार !
फेरिने भो त अब पोखरा रंगशाला अनुहार ! तस्विरः सुर्दशन रञ्जित

२०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता हुदाँ तयार पारेको भौतिक पुर्वाधार अहिले जीर्ण छन् । ०४५ र ०७२ सालको भूकम्पले ती पुर्वाधारलाई कमजोर बनाएको छ । फुटबल मैदान पुर्वमा दर्शक प्यारापिट र पश्चिममा भिआईपी प्यारापिट छन् । ती पुर्वाधारलाई स्थानीयस्तरमा हुने फुटबल प्रतियोगितालाई लक्षित गरी यथास्थितिमा राख्दै बाँकी क्षेत्रमा प्यारापिट निर्माण गरिने छ ।

‘अहिले पुराना संरचना भत्काईदैन् । नयाँ संरचना निर्माण गर्दै गएपछि आवश्यकता अनुसार भत्काईन्छ ।’ क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले भने–‘प्यारापिटले फुटबल मैदान घेरिने छ ।’ झण्डै २५ देखि ३० हजार दर्शक अटाउने क्षमताको प्यारापिट निर्माण हुने उनको भनाई थियो । अहिले भईरहेको सर्वसाधारण प्यारापिटमा चार हजार दर्शक अटाउँछन् ।  पोखरामा विशेष गरी सहारा क्लबले आयोजना गर्ने आहा रारा गोल्डकप तथा कास्की जिल्ला फुटबल संघको आयोजनामा हुने पोखरा कपको फाईनलमा दर्शकको चाप हुने गर्छ ।

फाईनलमा झण्डै १५ हजार दर्शक उपस्थिति हुने गरेको तथ्यांक समेत छ । उपस्थित दर्शक चौरमा बसेर फुटबलको मनोरन्जन लिने गरेका छन् । केही दिन अघि मात्रै पोखरामा सम्पन्न भएको आमन्त्रण भलिबल प्रतियोगितामा फाईनलमा मात्रै सात लाख रुपैयाँ बराबरको टिकट विक्री भएको थियो । यसले पोखरालाई स्पोर्टस टुरिज्मको रुपमा विकास गर्ने टेवा पु¥याउने छ । पोखरामा अन्तराष्ट्रियस्तरको प्यारापिट निर्माण भए मैत्रीपूर्ण अन्तराष्ट्रिय खेलहरु खेलाउने सकिने फुटबलका अग्रजहरु बताउँछन् ।

कमेन्टहरु
Loading...