सिद्धार्थ बैंकको ३९ प्रतिशत बोनस शेयर पारित, ७ संचालक चयन

काठमाडौ, ५ फागुन /सिद्धार्थ बैंक लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाले शेयरधनीहरुलाई बैंकले जारी गरेको २५ प्रतिशत हकप्रद शेयरलाई समेत समावेश गरिएको पुँजीको आधारमा गणना गरी ३९ प्रतिशत बोनस शेयर प्रदान गर्ने संचालक समितिको प्रस्ताव पारित गरेकोे छ ।

साधारणसभाले संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको निर्विरोध निर्वाचन गरेको छ । नव निर्वाचित संचालकहरु मनोज कुमार केडिया, नरेन्द्र कुमार अग्रवाल, वीरेन्द्र कुमार साह र दिनेश शंकर पालिखे रहेका छन् । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना संचालकहरुको समेत निर्विरोध निर्वाचन गरेको छ ।

सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निर्वाचित संचालकहरुमा महेश प्रसाद पोखरेल, हेमन्त ज्ञवाली र राजेश कुमार केडिया रहेका छन् ।  चालु आर्थिक वर्ष २०७३/७४ को पौष मसान्तसम्ममा बैंकले रु. ७२ करोड खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो ।

सोही अवधिमा बैंकले कुल निक्षेप रु. ७४ अर्ब ९३ करोड संकलन गरी रु. ६२ अर्ब ६५ करोड कर्जा प्रवाह गर्न सफल भएको छ । बैंकले हाल नेपालभर ६३ शाखा, ८२ ए.टि.एम र विभिन्न ६९ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

कमेन्टहरु
Loading...