११ औं सफल पोखरा म्याराथनमा ४ हजार सहभागी हुदै

पोखरा, ५ फागुन/पोखरामा शनिबार हुने सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणम पुगेको छ । भुतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा ११औं संस्करणको म्याराथन प्रतियोगितामा  शुक्रबार साँझसम्म नाम दर्ता गर्न सकिने म्याराथनमा करीब ४ हजार प्रतिष्पर्धीले भाग लिने अपेक्षा गरिएको मञ्चका अध्यक्ष खड्गबहादुर रानाभाटले बिहीबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए ।

४२ दशमलव १९५ मिटर म्याराथनमा करीब १२५ जनाले सहभागिता जनाउने उनले जानकारी दिए । त्यस्तै, छात्र /छात्रा ५ किलोमिटर दौडमा करीब २ हजार, रन फर फनमा करीब २ हजार ५ सय तथा अपाङ्गताहरुको हृविलचेयर दौडमा करीब ५० जनाले भाग लिने अनुमान गरिएको रानाभाटले बताए ।

उनका अनुसार म्याराथनमा दौडनका लागि हालसम्म नेपाली खेलाडीहरु ५५ जना पुरुष र ६ जना महिला तथा एक स्पेनिस खेलाडीले नाम दर्ता गराईसकेको जानकारी दिए । त्यस्तै छात्र दौडमा ८ सय, छात्रा दौडमा ६ सय तथा रन फर फनका लागि १ हजार ६ सयले नाम दर्ता गराइसकेका छन् ।

शनिबार विहान ७ बजे पोखरा रंगशालाबाट शुरु हुने म्याराथन पृथ्वीचोक, छोरेपाटन, विरौटा, राष्ट्रवैंकचोक, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा, सिद्धार्थचोक, मोहरियाटोल, विन्ध्यबासिनी, बगर, लामाचौर, बाटुलेचौर, उपल्लो दीप, तल्लो दीप, पुनः बगर हुँदै नदीपुर, महेन्द्रपुल, हस्पिटलचोक, अमरसिंहचोक, बिजयपुर, लेखनाथचोक, औद्यौगिक क्षेत्र, इन्द्रचोक हुँदै पुनः रंगशालामा आएर टुंगिनेगरी उनले बताए ।

लक्ष्मी हाउसको उत्पादन सफल दुधको प्रायोजनमा हुने प्रतिस्पर्धा अन्तर्गत म्याराथन बिजेताले नगद ६० हजार, उपबिजेताले ४० हजार, तृतीय हुनेले २५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले ५ हजार पुरस्कार पाउने मञ्चका सचिव हरिप्रसाद पराजुलीले जानकारी दिए । यसैगरी पाँच किलोमिटर छात्र /छात्रा दौडका विजेताले नगद ७, ५ र ३ हजार पुरस्कार पाउने छन् । ह्विलचियर महिलारपुरुष चारसय मिटर दौडमा विजेताले भने ३, २ र १ हजार नगद पाउने छन् ।

कमेन्टहरु
Loading...