पोखरामा पर्यटन विश्वविद्यालय बनाउन माग

पोखरा, ७ असार/नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा पर्यटन विश्वविद्यालय बनाउनुपर्ने सरोकारवाला वक्ताहरुले माग गरेका छन् । एबीसी टेलिभिजन पोखरा व्यूरोको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा शुक्रबार पोखरामा आयोजित ‘पोखरामा शैक्षिक पर्यटन र उच्च शिक्षाको सम्भावना’ विषयक बृहत छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् । उनीहरुले पोखरामा पर्यटन विश्वविद्यालयका लागि सम्भाबना रहेको भन्दै प्रक्रिया अगाडि बढाउनुपर्ने भनाइ राखे ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले पोखरामा पर्यटनसँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गरिनुपर्ने बताए । ‘पोखरा शैक्षिक पर्यटन र विश्वस्तरीय संस्था बन्न उपयुक्त थलो हो’ शर्माले कार्यपत्र प्रस्तुत गर्दै भने, ‘भौगोलिक बनोट र प्राकृतिक छटाको दृष्टिकोणले नेपालको उत्कृष्ट र आकर्षक स्थल पोखरा शैक्षिक सम्भावना प्रशस्त भएको ठाउँ पनि हो ।’ पर्यटकीय गन्तव्य पोखरा संसारकै शैक्षिक गन्तव्यसमेत बन्न सक्ने सम्भावना रहेको उनले बताए । शर्माले शिक्षा रोजगारमुखी हुनुपर्ने भनाइ राख्दै राज्यले विद्यार्थीलाई सर्टिफिकेटको प्रमाणपत्र दिएको बताए । सरकारले प्रशस्त रोजगारी दिनसक्ने अवस्था नरहेकोको बताउँदै उनले काम लाग्ने र शिप सिकाउने शिक्षा आवश्यक रहेकोमा जोड दिए । सरकार भन्दा जनता शक्तिशाली भएको बताउँदै उनले शिक्षामा आमूल परिवर्तन गर्नका लागि सरकारलाई जनताले नै दवाव दिनुपर्ने बताए । ‘सरकारले रोजगारी नदिएपनि स्वय आफैले रोजगारीको सिर्जना गरिनुपर्छ’ उनले भने ।

कार्यपत्रमाथि टिप्पणी गर्दै पोखरा विश्वविद्यालयका डिन डा. ईन्द्र तिवारीले नेपालको पर्यटन क्षेत्रले अर्थतन्त्रमा योगदान पु¥याए पनि सोचे अनुसार पर्यटन क्षेत्रको विकास हुन नसकको बताए । विदेशी निम्नवर्गीय पर्यटकहरु नेपाल बढी आउने गरेको बताउँदै तिवारीले पर्यटन शिक्षामा जोड दिएर पर्यटन व्यवसायलाई स्तरीय बनाउनुपर्ने भनाइ राखे । पोखरा नेपालको मुख्य पर्यटकीय क्षेत्र भएकाले पर्यटन सम्बन्धी शिक्षा आवश्यक भएको उनको भनाइ छ । नेपालको शिक्षामा बन्द हड्तालले असर गरिरहेको बताउँदै तिवारीले शिक्षामा परिवर्तन गर्नका लागि आफ्नो बानीमासमेत सुधार गरिनुपर्ने बताए ।

सो अवसरमा बोल्दै एबीसी टेलिभिजनका प्रवन्ध निर्देशक शुभशंकरण कंडेलले अहिलेसम्म कुनैपनि सरकारले शिक्षामा परिवर्तन गर्नका लागि नीति परिवर्तन नगरेको बताए । अव्यवहारिक शिक्षाकै कारण नेपाली युवाहरु पढेर पनि विदेशी भूमिमा मजदुरी गर्न जान बाध्य भएको उनको भनाइ छ । उनले पोखरा पर्यटकीय नगरी भएकाले पर्यटन क्षेत्रमा योगदान दिने खालको शिक्षाका लागि शैक्षिक संस्थाहरु स्थापना गरिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले शिक्षामा परिवर्तन ल्याउन २० वर्ष सेवा गरेका र ५० वर्ष पुगेको सम्पूर्ण शिक्षकहरुलाई सम्मानजनक अवकाश दिनुपर्ने भनाइ राखे । गुणस्तर र सवैको पहुँचमा शिक्षा हुनेपर्ने उनको भनाइ छ । उनले पोखरामा पर्यटन विश्वविद्यालय आवश्यक भएको भन्दै यसका लागि पहल गरिनुपर्ने बताए । कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोइरालाले पोखरा शिक्षा र पर्यटन क्षेत्रमा लगानीका लागि उपयुक्त थलो भएको बताए । अनेरास्ववियु कास्की अध्यक्ष अर्जुन अधिकारीले व्यवहारिक शिक्षाको विकास नगरिएसम्म शिक्षालाई परिवर्तन भएको मान्न नसकिने धारणा राखे । पोखरालाई शैक्षिक पर्यटनको केन्द्र बनाउन सरोकारवाला निकायहरुलाई दवाव सिर्जना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको एबीसी टेलिभिजन पोखरा व्यूरो प्रमुख एमबी आस्थाले बताए । रोड सो रियलस्टेट प्रालिको मुख्य तथा होटल म्यानेजमेन्ट एण्ड टुरिजम कलेज पोखराको सहप्रायोजनमा कार्यक्रम आयोजना गरिएको एबीसी संवाददाता सुरेन्द्र पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...