एक्सपर्ट विद्यालयस्तरीय क्रिकेटमा नेपाल भारत मैत्री विद्यालय सेमिफाईनलमा

पोखरा ४ फागुन/नेपाल भारत मैत्री विद्यालय र रोशनी इग्लिस बोर्डिङ स्कुल स्याङजा एक्सपर्ट विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । कुमुदिनी होम्सलाई पराजित गरी अगाडि बढ्दै सेमिफाईनल प्रवेश गरेको रोशनी इग्लिस विरुद्ध प्रोष्टेस परेको छ । यस विषयमा आयोजक कमिटिले छानविन गरिरहेको छ । दुवै पक्षको कागजपत्र अनुसन्धान गरी निचोडमा पुग्ने आयोजकले जनाएको छ ।

बुधबार पोखरा रंगशालामा भएको पहिलो खेलमा नेपाल भारत मैत्री विद्यालयले पाश्कल एकेडेमीलाई ५४ रनले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । म्यान अफ दि म्याच ईश्वर क्षत्रीको अलराण्डर प्रदर्शनमा फराकिलो जित निकाल्यो । टस जितेर व्याटिङ थालेको नेपाल भारतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११९ रन बनाएको थियो । ईश्वर क्षत्रीले सर्वाधिक ३३ रनको महत्वपूर्ण योगदान दिए । दिपेन थापाले ३१ रनको इनिङ खेले । बलिङ तर्फ सुवास पौडेलले चार ओभरमा २२ रन दिएर तीन विकेट आफनो नाममा लेखाए ।

१२० रनको लक्ष्य पछ्याएको पाश्कल एकेडेमी भने ६५ रनमा अलआउट हुन पुग्यो । किरण पौडेलले १९ रन बनाई पवेलियन फर्किदाँ सन्दिप छन्त्यालले १४ र अभिषेक थापाले १३ रन नटआउट हिर्काए । बलिङ तर्फ ईश्वर क्षत्रीले ४ ओभरमा १३ रन तीन विकेट लिए । ध्रुवकुमार गुप्ताले तीन दशमलव ४ ओभरमा पाँच रन दिएर पाँच विकेट लिए । यसैगरी अर्को खेलमा रोशनीले जुनियर सिटिजन्स एकेडेमीलाई १०१ रनले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको छ ।

रोशनीले पहिले व्याटिङ गरी २० ओभरमा सात विकेट गुमाउँदै १२८ रन बनाउन सफल भयो । संगम गौतमले ३४ बलमा ३९ रन बनाए । योगेन्द्र खत्रीले २१ रन बनाए । बलिङ तर्फ दिपेश पौडेल र विश्वास श्रेष्ठले दुई दुई विकेट लिए । १२९ रनको लक्ष्य पाएको जुनियर सिटिजन्स २६ रनमै समेटियो । सचिव मगरले ५ रन हिर्काए । जुन टोलीको लागि सर्वाधिक रन हुन पुग्यो । बलिङ तर्फ अभिषेक बस्नेतले ३ विकेट, संगम गौतमले ३ विकेट लिए । आज बिहीबार पहिलो खेल अमरसिंह उच्चमाविले सृजना बोर्डिङ स्कुलसित खेल्ने छ । भने दोस्रो खेल हिमालयन र पाश्कल एकेडेमी बीच खेल्ने छ ।

कमेन्टहरु
Loading...