कम गरीब कास्कीमा

७ असार, नेपालगन्ज । नेपालमा सबैभन्दा धेरै गरीबहरु बझाङमा जिल्लामा देखिएका छन् भने सबैभन्दा कम गरीबचाहिँ कास्की जिल्लामा देखिएका छन् । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको सरकारी तथ्याङ्कअनुसार बझाङ्गमा ६४ प्रतिशत जनता गरिबीको रेखा मुनि रहेका छन् ।
कास्कीमा सबै भन्दा कम अर्थात ४ प्रतिशत मात्रै गरिबीको रेखा मुनि छन् । केन्द्रीय तथ्याङ्क विभागका तथ्याङ्क अधिकृत लोकबहादुर खत्रीले राष्ट्रिय जनगणनाको तथ्याङ्कअनुसार बझाङ्गको जनसंख्या १ लाख ९४ हजार ५ सय १५ रहेकोमा १ लाख १० हजार ४ सय ८५ जना गरिवीको रेखामुनी रहेको बताउनुभयो । त्यस्तै कास्कीमा ४ लाख ८० हजार ८ सय ५१ जनता रहेकोमा १९ हजार २ सय ३४ जना मात्रै गरिबीको रेखामुनि भएको उल्लेख छ ।
इचंगुनारायण सबैभन्दा धनी
देशैभरिका गाविसमध्ये काठमाण्डौको इचंगुनारायण गाविसका जनता सबैभन्दा कम गरिबीको रेखा मुनि रहेका छन् । तथ्याङ्क अनुसार ०.४४ प्रतिशतमात्रै गरिवीको रेखा मुनि रहेका छन् । त्यस्तै इलाकाहरुमध्ये ललितपुरको ५ नं. इलाकामा ०.५ प्रतिशत जनता गरिबीको रेखा मुनि देखिएका छन् । उता मकवानपुरको ५ नं इलाकामा ७३ प्रतिशत गरिव रहेको उल्लेख छ ।
पोखरा धनी, गुलरिया गरीब
नगरपालिकाको तथ्याङ्क अनुसार पोखरा उप-महानगरपालिकामा सबैभन्दा कम अर्थात् १.३ प्रतिशत जनता गरिबीको रेखा मुनि छन् । बर्दियाको गुलरिया नगरपालिकामा सबैभन्दा बढी अर्थात् ४९.६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् ।
तथ्याङ्क अधिकृत खत्रीका अनुसार मुलुकका ५८ नगरपालिककामा ५ लाख ५० हजार जनताहरु गरिबीको रेखामुनि छन् । मुलुकभर ६१ लाख ७० हजार गरिब रहेको तथ्यांक विभागको दाबी छ ।
पश्चिमका केही जिल्लामा गरिबीको स्थिति
यसैगरी बाँकेमा २६.४, बर्दियामा २८.७, दाङ्गमा २५.१, सुर्खेतमा ३०.५ र दैलेखमा ३५.८ जनता गरिबीको रेखा मुनि छन् । जाजरकोटमा ३७.७ प्रतिशत जनता गरिवीको रेखा मुुनि भने बाँकेको ४ लाख ८४ हजार ५ सय ९२ जनसंख्यामध्ये १ लाख २७ हजार ९ सय ३२ गरिबीको रेखा मुनि छन् । बर्दियाको ४ लाख २२ हजार ८ सय १२ जनसंख्यामध्ये १ लाख २१ हजार ३ सय ४७ र दाङ्गको ५ लाख ४७ हजार ९ सय २६ जनसंख्या मध्ये १ लाख ३७ हजार ५ सय २९ जना गरिबीको रेखा मुनि रहेका छन् ।
बाँकेमा तथ्यांक सार्वजनिक गर्ने कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका निर्देशक डिल्लीराज जोशीले सार्वजनिक गरिएका सबै तथ्याङ्क जनगणनाको आधिकारिक तथ्यांक भएको दाबी गर्नुभयो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओली र स्थानीय विकास अधिकारी विश्वराज डोटेल पनि सहभागी हुनुहन्थ्यो । cp.

कमेन्टहरु
Loading...