अधिवेशन नगराइएकोमा प्रेस युनियनको आपत्ति

पोखरा, ३ फागुन /नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ कास्की शाखाको अधिवेशन नगरिएकोमा कडा आपत्ति प्रकट गरेको छ । युनियनले नेपाल पत्रकार महासंघ केन्द्र तथा कास्की नेतृत्वको अकर्मन्यता कै कारण अधिवेशन स्थगित भएको ठहर समेत गरेको छ ।

नेपाल प्रेस युनियनले मंगलबार जारी गरेको विज्ञप्तिमा सदस्यता बितरणमा देखिएको अनियमितता छानविनको मागगर्दै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी भइरहेको बेला अध्यक्ष महेन्द्र विष्ट कास्की शाखाको अधिवेशन उद्घाटन गर्न आउनु गैर जिम्बेवार र लज्जास्पद भएको जनाइएको छ ।

जायज मागहरुलाई बेवास्तागर्दै एकलौटी रुपले अगाडि बढ्न खोज्दा त्यसको स्वभाविक रुपले प्रतिवाद हुने जनाउँदै युनियनले आफूले चुनावचाहे पनि महासंघको केन्द्रीय नेतृत्वको गैर जिम्मेवारीपन र कास्की शाखाले अधिवेशनको तयारीमा गरेको वेवास्ता समेतका कारण अधिवेशन रोकिन पुगेको ठहर समेत गरेको छ ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, गण्डकी अञ्चल संयोजक टंक अधिकारी र कास्की अध्यक्ष शिरोमणि बरालद्धारा हस्ताक्षरित विज्ञप्तिमा चुनाव गराउन नखोज्ने र त्यसको दोष युनियन माथि थोपर्न खोजिएकोमा आपत्ति जनाउँदै यस्तो अनर्गल प्रचार नगर्न सम्बन्धित संस्थाहरुलाई सचेत समेत गराएको छ । जायज मागलाई नैतिक समर्थन गर्ने पत्रकारहरुलाई धन्यवाद दिँदै युनियनले न्याय संगत रुपमा समस्या समाधान गरी अधिवेशनको मिति अविलम्व घोषणा गर्न पनि हामी जोडदार माग समेत गरेको छ ।

कमेन्टहरु
Loading...