नवआगन्तुक क्षेत्रीय प्रशासक र जनगायक रामेश पोखरा सफाइमा

पोखरा, २९ माघ/पोखरामा जारी बृहत् सफाइ अभियानको ३७ औं श्रृंखलामा नवआगन्तुक क्षेत्रीय प्रशासक यामकुमारी खतिवडा र जनगायक रामेशले ऐक्यवद्धता जनाएका छन् । नयाँबजारस्थित क्षेत्रीय संग्रहालयदेखि प्रदर्शनी केन्द्र शान्ति वनबाटिकाहुँदै चाइनापुलसम्म सम्पन्न उक्त अभियानमा झण्डै ५ टन फोहोरमैला संकलन भएको थियो।

सफाइ अभियानसँगै क्षेत्रीय प्रशासक खतिवडालाई पोखरेली समुदाय र सामाजिक अभियन्ताका तर्फबाट स्वागत अभिनन्दन गरिएको थियो । उक्त अभियानमा वडा नं. ९ मा क्रियाशील विभिन्न आमा समूहलगायत सामाजिक संघसंस्था, विभिन्न विद्यालय, कृषि उपज बजार, ब्रह्मकुमारी ईश्वरीय विश्वविदालयलगायत वडाबासीको उल्लेख्य सहभागिता रहेको वडासचिव लोकदर्शन कोइरालाले जानकारी दिए ।

यसअघि उपस्थित सहभागीलाई क्षेत्रीय प्रशासक खतिवडाले सपथ ग्रहण गराएकी थिइन् । सातामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने उद्घोषसहितको सफाइ अभियानप्रति ऐक्यवद्धता जनाउँदै उनले यस्ता सामाजिक अभियानको असल अभिभावक बन्न तयार रहेको उल्लेख गरिन् । आगामी ३८ औं साताको सफाइ अभियान फागुन ७ मा पृथ्वीचोकस्थित बसपार्कबाट हुने नागरिक समाज संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...