दशौं पोखरा पिस क्रिकेट कपमा चितवन र काठमाण्डौ सेमिफाइनलमा

पोखरा, २७ माघ /पोखरा पिस क्लवद्वारा पोखरा रंगशालामा आयोजित दशौं पोखरा पिस क्रिकेट कप २०७३ अन्तर्गत बुधबार क्वाटरफाइनलका २ खेलहरु सम्पन्न भएका छन् । पहिलो खेलमा क्रिकेट क्लव काठमाण्डौले लेकसाइड क्रिकेट क्लव पोखरालाई ११८ रनले र दोस्रो खेलमा क्रिकेट एशोसिएशन अफ चितवन एकेडेमी ११ ले राइजिङ्ग क्रिकेट क्लव पोखरालाई ३८ रनले पराजित गरेका छन् । विजयसँगै दुवै टिमले सेमिफाइनलको यात्रा तय गरेका छन् ।

बुधबार भएको पहिलो खेलमा लेकसाइड क्रिकेट क्लव पोखराले टस जितेर पहिले बलिङ गर्ने निर्णयसँगै ब्याटिङको निम्तो पाएको बालुवाटार क्रिकेट क्लवले सोनु तामाङ्गको ३२ बलमा ४७ रन, रोहित पौडेलको २४ बलमा ३१ रन र अमृत थापाको १३ बलमा अविजित २५ रनको मद्दतसहित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको थियो । लेकसाइड क्रिकेट क्लवका तर्फबाट शिव त्रिपाठीले ४ ओभरमा २६ रन खर्चदै २ विकेट र अर्जुन अधिकारीले ४ ओभरमा ३८ रन खर्चदै २ विकेट हात पारे ।

१७७ रनको विजय लक्ष्यसहित मैदानमा उत्रेको लेकसाइडले अमृत अधिकारीको २९ बलमा १८ रन र सन्दीप सुनारको १९ बलमा ११ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ५८ रनमा समेटिन पुगेको थियो । उक्त खेलको म्यान अफ दी म्याच बालुवाटार क्रिकेट क्लवका सोनु तामाङ्ग घोषित भएका थिए । बुधबार नै भएको दोस्रो खेलमा क्रिकेट एशोसिएशन अफ चितवन एकेडेमी ११ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै किशोर महतोको २१ बलमा २१ रन र पवन थापाको १९ बलमा १९ रनको मद्दत सहित २० ओभरमा ९ विकेटको क्षतिमा ११४ रन बनाउन सफल भयो ।

राइजिङ क्रिकेट क्लवका तर्फबाट रफिक आलमले ४ ओभरमा २४ रन खर्चिदै ३ विकेट हात पारे । ११५ रनको लक्ष्य पाएको राइजिङ्ग क्रिकेट क्लवले अश्विनी रानाको २५ बलमा २८ रन र दीपेश खत्रीको १६ बलमा ११ रनको मद्दत सहित १८.१ ओभरमा ७६ रनमा समेटिन पुगेको थियो । चितवनका तर्फबाट राजेश लम्सालले ४ ओभरमा ८ रन खर्चदै ३ विकेट, दिपेश श्रेष्ठले ३.१ ओभरमा १४ रन खर्चदै ३ विकेट र सुशील कँडेलले ४ ओभरमा ३ मेडेन राख्दै ३ रन खर्चेर १ विकेट हात पारे । उक्त खेलको म्यान अफ दी म्याच चितवनका राजेश लम्साल घोषित भएका थिए ।

दुवै टिमका म्यान अफ दी म्याचलाई पोखरा पिस क्लवका सल्लाहकार दण्डराज शर्मा पौडेल र कास्की क्रिकेट संघका सचिव सन्जयकान्त सिग्देलले ट्रफी प्रदान गरेका थिए । प्रतियोगिता अन्तरगत बिहीबारको पहिलो सेमिफाइनल खेल बिहान ९ बजे काठमाण्डौको बालुवाटार क्रिकेट क्लव र पोखराको पोखरा क्रिकेट क्लवका बीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल दिउँसो १ बजे बागलुङको धौलागिरी क्रिकेट क्लव र चितवनको क्रिकेट एशोसिएशन अफ चितवन एकेडेमी ११ का बीच हुनेछ ।

कमेन्टहरु
Loading...