रेग्मी-प्रचण्ड भेटवार्ता, बाढीपीडितलाई १ लाख राहत दिन आग्रह

७ असार,काठमाठौं । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी अध्यक्ष प्रचण्डवीच शुक्रबार विहान बालुवाटारमा भेटवार्ता सम्पन्न् भएको छ । बिहान ७ बजेदेखि ४५ मीनेट भएको भेटमा पश्चिम नेपालका बाढी पीडितहरुका विषयमा कुराकानी भएको प्रचण्डको निजी सचिवालयले अनलाइनखबरलाई बतायो ।

दार्चुला सदरमुकाममा मन्त्रिपरिषद अध्यक्षले भ्रमण गरी प्रकोपको निरीक्षण गरेको र संकटग्रस्त क्षेत्र घोषणा गरी ५० करोड सहयोगको घोषणा गरेकोमा प्रचण्डले रेग्मीलाई धन्यवाद दिनुभएको छ । तर, प्रत्येक पीडित परिवारलाई तत्कालका लागि १ लाखका दरले राहत प्रदान गर्न प्रचण्डले सरकारसँग थप आग्रह गर्नुभएको छ ।prachanda-and-khilraj

सरकारले दार्चुलामा मात्रै नभएर कालीकोट, कैलालीलगायत देशका अन्य जिल्लामा समेत बाढी पहिरोबाट पीडित नागरिकहरुलाई तत्काल राहत पुर्याउनुपर्ने प्रचण्डले रेग्मीसँग आग्रह गर्नुभएको छ । साथै तत्काल दार्चुलाको निरीक्षण भ्रमणका लागि चारदलका शीर्ष नेताहरुलाई नेपाली सेनाको हेलीकोप्टरको प्रवन्ध गरिदिन पनि प्रचण्डले अध्यक्ष रेग्मीसँग आग्रह गर्नुभयो । सरकारले हेलीकोप्टरको प्रबन्ध गरेको खण्डमा चार दलका नेताहरु शुक्रबारै दार्चुला जाने स्रोतले अनलाइनखबरलाई बतायो ।

बाँध खोलेको विषयमा भारतसँग कुरा गर्न सुझाव

दार्चुला सदरमुकामभन्दा माथि रहेको महाकाली नदीको बाँध भारतले खोलेका कारण बाढीले क्षती पुर्याएको दार्चुलाबासीको गुनासोलाई गम्भीरतापूर्वक लिँदै बाँध खोलेको विषयमा भारत सरकारसँग कुरा गर्न प्रचण्डले अध्यक्ष रेग्मीलाई सुझावसमेत दिनुभएको छ । ‘बाँधको ढोका खोलेर क्षती भएको भन्ने चौतर्फी प्रश्न उठेको छ । सरकारले यसबारे भारतसँग कुराकानी गरेर समीक्षा गर्नुपर्छ ।’- प्रचण्डको भनाइ उधृत गर्दै उहाँका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखरलाई बताउनुभयो ।

वैद्यलार्इ चुनावमा ल्याउने पहल गर्न आग्रह

यसैबीच भेटमा अध्यक्ष प्रचण्डले आगामी संबिधानसभा चुनावमा सकेसम्म बढि दलको प्रतिनिधित्व हुने गरी तयारी थाल्न आग्रह गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

‘बैद्यजीहरु पनि चुनावमा सहभागी हुनुहोस भन्ने हाम्रो पार्टीको चाहना छ’ उहाँको भन्नुभयो-’त्यसका लागि राजनीतिक दल थ्रेसहोल्ड, संख्या लगायतका बिषयमा लचिलो छन, सरकारले पनि उनीहरुलाई मनाउने तदारुकता देखाउनुपर्‍यो ।’

जवाफमा अध्यक्ष रेग्मीले मंसिर ४ गते चुनाव गर्न सरकार प्रतिबद्ध रहेको भन्दै दलहरुको सहभागीताका लागि राजनीतिक दलको सहयोग हुनुपर्ने बताउनुभएको थियो ।

– See more at: http://www.onlinekhabar.com/2013/06/84472/#sthash.5JhBCtnK.dpuf

कमेन्टहरु
Loading...