शिशु कल्याणमा महायज्ञ तयारी पूरा, सोमबार प्रचारस्वरुप मोटरसाइकल ¥याली

पोखरा, २३ माघ/कास्कीको भरतपोखरीस्थित शिशुकल्याण आधारभूत विद्यालयको स्तरोन्नति गर्दै प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले माघ २५ देखि फागुन २ गतेसम्म संचालन हुन लागेको श्रीमद्भागवत् ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल महोत्सव तयारी पूरा भएको छ ।

महायज्ञ तयारीस्वरुप लेखनाथका विभिन्न ठाउँमा ६ वटा स्वागतद्धार निर्माण गरिएको छ । ठाउँ ठाउँमा स्वागत व्यानर राख्नुका साथै पोखरा र लेखनाथ चल्ने करिब २ सय नगर बसमा तुल व्यानर टाँगिएको छ । महायज्ञस्थल वरपरको लक्ष्मीकुनादेखि ठूलढुंगासम्म सरसफाइ पारी चिरीच्याट्ट पारिएको छ । यस्तै विद्यालयमा ध्वजापताकालो सजाइएको छ । यज्ञमण्डप, हवनकुण्ड, मंच निर्माण भैसकेको छ ।

आवश्यक पिउनेपानी, अस्थायी शौचालय, बाहिरबाट आउनेलाई आवासको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
करिब २ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको उक्त महायज्ञमा प्रमुख वाचक भागवत भाष्कर पण्डित कमलनयन गौतम रहेका छन् ।

महायज्ञ प्रचारका लागि भोलि (सोमबार) महायज्ञस्थल स्कुल परिसरको लेखनाथ १७, ठूल्ढुंगादेखि लेखनाथ र पोखराका विभिन्न ठाउँमा मोटरसाइकल ¥याली हुन लागेको महायज्ञ मूलआयोजक समिति महासचिव डिल्लीराम बरालले जानकारी दिए । ¥याली महायज्ञस्थलदेखि सुरु भै बसपार्क पुल्चोक, पट्नेरी, गगनगौडा, सैनिकबस्ती, भण्डारढिक, तालचोक, अर्घौ, अमरसिहचोक, महेन्द्रपुल, न्यूरोड, राष्टबैंकचोक, बिरौटाहुँदै भरतपोखरीस्थित महायज्ञस्थलमा पुगेर टुंगिनेछ ।

यस्तै, महायज्ञ उद्घाटनअघि माघ २५ गते बिहान १० बजे लेखनाथ १७ बसपार्कदेखि कलस यात्रा गरिनेछ । १०८ को पूर्ण कलसयात्रा वरेलीचोक, पानीटंकी, कालिकास्थान, भगवती चौतारा हुँदै महायज्ञस्थल ठूलढुंगा बेसी आउनेछ । महायज्ञ उद्घाटन संसद विकास सभापति रवीन्द्र अधिकारले गर्ने कार्यक्रम छ ।

महायज्ञबाट संकलित रकमले समय सुहाउँदो प्राविधिक शिक्षा, अक्षयकोष स्थापना, सुविधा सम्पन्न भौतिक संरचना, बालउद्यान, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, खेल मैदान, आइसिटीयुक्त सभा हल, नमूना शैक्षिक संग्रहालय निर्माण गर्ने मूल उद्देश्य छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीभद्र बरालको मूलसंयोजकत्वमा महायज्ञ सफल बनाउन एक हजार एक सय ११ सदस्यीय मूलआयोजक समिति, तीन सय पाँच सदस्यीय सल्लाहकार समिति र ५१ वटा उपसमिति गठन गरिएको छ ।
शिशुकल्याण निमाविमा एक सय ८० जना विद्यार्थी अध्ययनरत् रहेको विद्यालयका प्रध्यानाध्यापक जगदीश सुवेदीले जानकारी दिए ।

कमेन्टहरु
Loading...