रेन्बो चिल्ड्रेन होमलाई नबोदित बोर्डिङको सहयोग

पोखरा, २३ माघ /रेन्बो चिल्ड्रेन होम लेकसाइड पोखरालाई नबोदित बोर्डिङ स्कुल पोखराले एलइडी टेलिभिजन सहयोग गरेको छ । स्कुलले २५औं वार्षिकोत्सवको अवसरमा शनिबार एक कार्यक्रमका बीच सामाजिक भावनाका साथ रेन्बो चिल्ड्रेन होमलाई सहयोग गरेको हो । रेन्बो चिल्ड्रेन होमले नेपालका करिब २० जिल्लाका ४१ जना बालबालिकालाई आश्रय दिएर अध्ययनको व्यवस्था गरेको छ ।

स्कुलका संस्थापक चन्द्रबहादुर गुरूङ, प्रिन्सिपल कौशल्या गुरूङ, सञ्चालक मगनलाल श्रेष्ठ र दूधमान गुरूङले रेन्बो चिल्ड्रेन होमका अध्यक्ष गोमा ढकाललाई टेलिभिजन हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा बोल्दै प्रिन्सिपल कौशल्या गुरूङले अनाथ तथा असहाय बालबालिकालाई आश्रय दिएको संस्थालाई सहयोग गर्न पाउँदा अत्यन्तै हर्षित भएको धारणा राखिन् ।
विभिन्न व्यक्ति तथा संस्थाहरूको सहयोगबाट रेन्बो चिल्ड्रेन होम सञ्चालन भइरहेको अध्यक्ष गोमा ढकालले बताइन् ।

नर्सरीदेखि १२ कक्षासम्म अध्ययनरत बालबालिकालाई संस्थाले आश्रय दिइरहेको उनले जानकारी दिइन् । ढकाल बालगृह महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष समेत हुन् । कार्यक्रममा रेन्बो चिल्ड्रेनका सल्लाहकार अग्निप्रसाद कँडेल, सञ्चारकर्मी अनुराग अधिकारी लगायतले बोलेका थिए । रेन्बो चिल्ड्रेन होममा रहेका बालबालिकाहरुले श्रव्यदृश्यमार्फत पनि ज्ञान पाऊन् भन्ने उद्देश्यले सो टेलिभिजन हस्तान्तरण गरेको सञ्चालक मगनलाल श्रेष्ठले बताए ।

कमेन्टहरु
Loading...