पृथ्वीनारायण क्याम्पसमा नेवि संघले लगाएको ताला खोल्यो

पोखरा, २१ माघ/स्ववियु निर्वाचनमा उम्मेदवारलाई उमेर हदबन्दी र त्रिविले आकस्मिक रुपमा भर्ना रोक्न निर्णय प्रति खेद प्रकट गर्दै नेवि संघले गत मंगलबार पृथ्वीनारायण क्याम्पसमा गरेको तालाबन्दी खोलेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उमेर हदबन्दीलाई स्वीकार्दै निर्वाचनमा होमिन दिएको निर्देशन पालना गर्दै ताला खोलिएको नेवि संघका नेता पशुपति भट्टराईले जानकारी दिए ।

केही दिन भएको तालाबन्दीले विद्यार्थीलाई पर्न गएको असहजताप्रति क्षमाप्रार्थी हँुदै नेवि संघमा आवद्ध हजारौं आस्थावान विद्यार्थीलाई आगामी स्ववियु निर्वाचनमा ऐक्यवद्धता भइ नेविसंघलाई विजय गराउन नेवि संघ पृथ्वीनारायण क्याम्पस मूल एकाइले अनुरोध गरेको छ ।

ताला खोल्नेक्रममा नेविसंघका केन्द्रीय सदस्य गोपाल गुरुङ, पोखरा विश्वविद्यालयका मुल एकाइका सभापति राजेन्द्र बराल, सचिव जिफान भुजेल, विद्यार्थी नेता दुर्गाबाबु लम्साल, इन्द्र पौडेललगायत थिए ।

नेवि संघको पोखरामा भएको ११ औं केन्द्रीय महाधिवेसनमा सहमहामन्त्री पदका प्रत्यासी समेत रहेका नेता पशुपति भट्टराईले २०३६ सालमा नेवि संघको संघर्षबाट प्राप्त उपलब्धी स्ववियुलाई संस्थागत रुपले जोगाई राख्न आफ्ना असन्तुष्टि थाँती राख्दै पूर्ण रुपले आचारसंहिता पालना गर्दै सम्पूर्ण संघका साथीलाई नेविसंघलाई भारी मतका साथ विजय गराउँदै नेवि संघको कलम र मसालअंकित झण्डा फहराउने महान अभियानमा जुट्न अपील समेत गरेका छन् ।

कमेन्टहरु
Loading...