शैक्षिक भ्रमणमा काठमाडौंबाट पोखरा आएका विद्यार्थी फुस्रेखोलामा डुवेर वेपत्ता

पोखरा, २१ माघ/काठमाडौंबाट शैक्षिक भ्रमणको लागि पोखरा आएका एक विद्यार्थी फुस्रेखोलामा डुवेर वेपत्ता भएका छन् । काठमाण्डौंको बुढानिलकण्ठ स्थित भ्याली पब्लिक स्कूलमा कक्षा १० का पेसल घिमिरे बिहीबार खोलामा डुवेर वेपत्ता भएका हुन् ।

काठमाडौंबाट पोखरा हुदै लुम्बिनीका लागि हिडेका उनीहरु दिउसो पोखरा आएपछि चमेरे घुफाको भ्रमण सकेर फुस्रेखोला गएका थिए । भ्रमणमा आएका ९४ जना विद्यार्थी र १० शिक्षक मध्ये सात जना छात्र खोलामा पौडी खेल्न थालेका थिए ।

त्यसैक्रममा ६ जना वाहिर निस्किए तर पेसल निस्केनन् । काठमाण्डौ बाँसबारीका १६ वर्षीय उनको साझँ सम्म खोजी गरेपनि नभेटिएको प्रहरीको भनाई छ । उनको शुक्रबार विहानबाट खोजी सुरु गरिने प्रहरीले जनाएको छ । यसअघि सोहि स्थानमा पौडी खेल्दा दर्जनौ मानिसले ज्यान गुमाइसकेका छन् ।

कमेन्टहरु
Loading...