अटेरी करदातालाई नै पोखरा नगरपालिकाको उत्कृष्ट सम्मान

अमृत सुवेदी

पोखरा, २० माघ /पोखरा उपमहानगरपालिकाले मंगलबार गरेको सम्मान, ‘चोरलाई चौतारो, साधुलीलाई शूली।’ यही उखान चरितार्थ भएको छ । कानुनलाई चुनौती दिँदै समयमै कर नतिर्ने ठूला करदातालाई नै पोखरा उपमहानगरपालिकाले सम्मान गरेको छ। कानुन मिचेर कर तिर्न अटेरी गरेका पाँच तारे होटल ग्रान्ड, भाटभटेनी सुपरमार्केट, सांग्रिला भिलिज रिर्सोट लगायत नै नगरपालिकाबाट उत्कृष्ठ करदाताका रूपमा सम्मानित भएका हुन्।

यी सबैले लामो समय कर नतिरी केही महिनाअघिमात्र उपमहानगरपालिकामा कर दाखिला गरेको समाचार नेपालखबरमै प्रकाशित भएको थियो। धेरै वर्षसम्म कर नतिरेर अटेर गरेका ठूला करदाता पोखरा उपमहानगरपालिकाको वार्षिकोत्सवमा सम्मानित भएका छन्। नगरपालिका कारबाहीमै उत्रेपछि मात्र कर दाखिला गर्नेलाई उत्कृष्ट करदाताकाको रूपमा सम्मान गरिएको हो।

नवराज ढुंगाना कार्यकारी अधिकृत भएर पोखरा आएपछि उनले लामो समय कर नतिर्नेलाई कडाइ गरेका थिए। अहिले उनैको नेतृत्वमा अटेरी करदातालाई सम्मान गरिएको हो। ‘जसले कानुनलाई टेर्दैन उसैलाई सम्मान गर्ने काम भयो। यसले नियमित कर तिर्ने व्यवसायीलाई उपेक्षा गरेको छ,’ एक व्यवसायीले भने, ‘लामो समय कर नतिर्ने तर एकैपटक तिर्ने कसरी उत्कृष्ट हुन सक्छन्रु’

पाँचतारे होटल ग्रान्डले स्थापनाकालदेखि नै कर तिरेको थिएन। उसले यही महिनामात्र पोखरा उपनगरपालिकालाई साढे ७५ लाख रूपैयाँ बुझाएको हो। पोखरा उपमहानगरपालिकाले कानुन मिचेको भन्दै पटकपटक ताकेता गरेर कारबाहीकै प्रक्रियामा जाने चेतावनी दिएको थियो। त्यसको हप्ता अघिमात्रै पोखराको सांग्रिला भिलेज रिसोर्टले ५७ लाख रूपैयाँ नगरपालिकामा बुझाएको थियो। रिसोर्टले १८ डेढ दशकदेखि कर तिरेकै थिएन।

सरकारी नियम पालना नगरेका कारण पोखराको भाटभटेनी डिपार्टमेन्ट स्टोरले स्थानीय निकायबाट पुर्‍याउनुपर्ने प्रक्रिया नपुर्‍याएकाले महिना दिनअघि ७४ लाख रूपैयाँ बुझाएको थियो। भाटभटेनीले नक्सापास तथा घरजग्गा करबापत ५८ लाख, समयमै निर्माण सम्पन्नताको प्रमाणपत्र नलिएका कारण १४ लाख ३० हजार र २ वर्षको एकीकृत करबापत १ लाख ६० हजार रूपैयाँ बुझाएको थियो। कर उठाउन नगरपालिकाले कडाइ गरेपछि मात्र लेकसाइडको टेम्पल ट्रीले १७ लाख, होटल ड्रागनले साडे ७ लाख, अतिथि रिसोर्टले ४ लाख हालसालै बुझाएको हो।

कानुन मिचेर अटेर गरेर बस्नेलाई सम्मानित गर्नुलाई नियमित करदाताले शंकाको दृष्टिकोणबाट हेरेका छन्। ‘लामो समयसम्म कर नतिर्नु भनेको कानुन मिच्नु हो। उ कानुनको नजरमा दोषी हुन्छ’ एक नियमित करदाता भन्छन्, ‘एकैपटक तिर्‍यो भन्दैमा कानुन मिच्ने कसरी सम्मानित हुन सक्छरु’ कर तिर्नुपर्छ भन्ने सोचको विकास गराउन र नियमित कर तिर्न प्रोत्साहन गर्न उत्कृष्ट करदाताको रूपमा सम्मान गरिएको उपमहानगरको तर्क छ।

नगरपालिकाको झन्डै १० करोड बक्यौता रकम अझै उठ्न बाँकी छ। फूलबारी रिसोर्ट, मनिपाल मेडिकल कलेज लगायतले लामो समयदेखि कर तिरेका छैनन्। मनिपालको जग्गा लिजमा लिइएका कारण कसरी कर उठाउने भन्ने विषयमा मतभेद भए पनि कर छुट नपाउने र कर तिर्न ताकेता भइरहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले पाँचतारे फूलबारी रिसोर्टलाई तत्काल कागजात पेस गर्न भनिरहेको छ।

नगरपालिकाबाट पोखरा उपमहानगर बनेको २१ वर्ष पुगेको अवसरमा गरिएको कार्यक्रममा उनीहरू सम्मानित भएका हुन्। २०१६ सालमा नगरपालिका भएको र २०५३ मा उपमहानगरपालिका बनेको पोखराले २२ औं वर्ष प्रवेशको सामान्य औपचारिक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो।

महानगरोन्मुख पोखराले २२ वर्षे तन्नेरी उमेरसम्म आइपुग्दा के–कस्तो विकास गर्‍यो र अबका सम्भावना र चुनौती के हुन सक्छन् भन्ने विषयमा जुन बहस छेड्नुपर्ने हो त्यसमा अझै चुकेको विश्लेषक बताउँछन्। विकास निर्माण र सम्भावनाका विषयमा बहस त भएन तर नगरपालिकाप्रति सर्वसाधरणको घट्दो विश्वासप्रति भने कार्यकारी अधिकृत नवराज ढुंगानाले चिन्ता व्यक्त गरे। ‘केही वर्षअघिसम्म सरकारी कर्मचारी भनेर बडो सम्मानका दृष्टिले हेरिन्थ्यो। अहिले कर्मचारीलाई हेर्ने दृष्टिकोण सरकारात्मक छैन,’ कार्यकारी अधिकृत ढुंगानाले भने, ‘नगरबासीको मन जित्न नगरपालिकाका कर्मचारीले सकेका छैनन्। त्यसलाई दृष्टिगत गरी काम गर्नुपर्ने चुनौती छ।’ नगरबासीको मन जित्ने गरी काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए।

पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालले उप–महानगरपालिकाले प्रत्येक वर्ष वार्षिकोत्सव मनाइरहँदा कुनै एक प्रतिबद्धता जाहेर गर्नुपर्ने बताए। ‘पोखरा विकासमा हरेक नागरिकको उत्तिकै जिम्मेवारी र भूमिका सम्झनुपर्छ,’ बरालले भने, ‘जनप्रतिनिधि नहुँदा स्थानीय निकाय कमजोर बन्दै गएको छ। कर्मचारीले त्यसको कमी हुन दिनुहुँदैन।’
कार्यकारी अधिकृत जाने–आउने भइरहने भएकाले नगर परिषदबाट पारित नीति तथा कार्यक्रमको कार्यान्वयनमा कर्मचारीहरू जिम्मेवार बन्नुपर्ने कार्यकारी ढुंगानाको भनाइ थियो। साभारः नेपालखबर डटकमबाट

कमेन्टहरु
Loading...