पोखरा, १९ माघ /पोखरा पिस क्लवद्वारा माघ २२ गतेदेखि २९ गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा संचालन गरिने दशौं पोखरा पिस क्रिकेट कप २०७३ तयारी अन्तिम चरणमा पुगेको छ । प्रायोजनसम्बन्धी अन्तिम तयारी तथा सचिवालय सम्बन्धी केही कामहरु गर्न बाँकी छन्, ती पनि १।२ दिनभित्र पूरा गर्नेछौं, क्लवका सचिव प्रताप आचार्यले बताए ।
सहभागी टिमहरुको टुंगो र खेल तालिका पनि सार्वजनिक गरिसक्यौं, अब आम क्रिकेट प्रेमीहरुको दृष्टि पोखरा रंगशालाको क्रिकेट मैदानमा केन्द्रित रहने उनले बताए । अति नै दुःख र कष्टका साथ प्रायोजक दाताहरु खोज्दै गर्दा आजको मितिसम्म खर्च धान्न सक्ने स्थितिसम्म आइपुग्यौं, क्रिकेट विकासका लागि हाम्रो महत्वपूर्ण उपलब्धी यही नै हो– प्रतियोगिता संयोजक दामोदर बरालले बताए– अन्य खेलको तुलनामा क्रिकेट खेलको विकासमा प्रायोजन गर्न प्रायोजनदाता तथा विभिन्न संघसंस्थाहरु हिचकिचाउने गरेका छन्, जबकी नेपालको प्रतिष्ठा बनाउन क्रिकेट खेल महत्वपूर्ण कडी बनेको छ ।
हाम्रो प्रतिष्ठा भनेकै क्रिकेट खेलको यस श्रृंखला व्यवस्थित तवरले निरन्तरता दिनु पनि रहेको छ । प्रतियोगितामा बालुवाटार क्रिकेट क्लव काठमाण्डौ, क्रिकेट एशोसिएशन अफ चितवन एकेडेमी ११ चितवन, धौलागिरी क्रिकेट क्लव बागलुङ, स्याङ्गजा युनाइटेड क्रिकेट क्लव स्याङ्गजा, शुक्लागण्डकी क्रिकेट क्लव तनहुँ र पोखराका पोखरा क्रिकेट क्लव, सांग्रिला क्रिकेट क्लव, राइजिङ्ग क्रिकेट क्लव, लेकसाइड युथ क्रिकेट क्लव र आयोजक पोखरा पिस क्लव गरी १० टिमको सहभागिता रहने क्लवका कोषाध्यक्ष राजेन्द्र बरालले बताए ।
प्रतियोगितामा विजेता टोलीले नगद रु.७० हजार, ट्रफी, मेडल्स र प्रमाणप, उपविजेता टोलीले नगद रु.३० हजार, मेडल्स र प्रमाणपत्र र सर्वोत्कृष्ट खेलाडीले नगद रु.१० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र सर्वाधिक छक्का हान्ने खेलाडीलाई जनही रु.५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई ट्रफीको व्यवस्था गरिएको छ ।