बाल अधिकार चेतना समुहका सदस्यहरूका लागि क्षमता अभिवृिद्ध तालिम सुरू

पोखरा, १९ माघ/इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको आयोजनामा बाल अधिकार चेतना समुहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम बुधबार देखि पोखरामा सुरू भएको छ । तालिममा कास्की, पाल्पा, तनहुँ र कपिलवस्तु गरी चार जिल्लाका ५० जना विद्यार्थीहरूको सहभागिता रहेको छ ।

स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने इएलपी परियोजना अन्र्तगत रहेको बाल अधिकार चेतना समुहका सदस्यहरूमाझ बाल अधिकार सम्बन्धी काम गरिरहेका विभिन्न व्यक्तित्वहरूले तालिममा सहजीकरण गर्ने इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयका संयोजक शिव खकुरेलले बताए ।

बुधबार आयोजित उद्घाटन कार्यक्रममा तालिमको उद्देश्यमाथि प्रकाश पार्दै क्षेत्रीय संयोजक खकुरेलले तीनदिने तालिम बाल अधिकार, इन्सेक अभियान, सुचना र संचार प्रविधी, बालमैत्री विद्यालय अवधारणा र जिल्ला बाल कल्याण समितिको भुमिका आदी विषयवस्तुमा केन्द्रित रहने जानकारी दिए ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले बाल अधिकार सबैको साझा विषय भएतापनि देशको अवस्था र परिवेशका कारण नेपालले बाल अधिकार सम्बन्धी अन्र्तराष्ट्रिय महासन्धीमा हस्ताक्षर गरेपनि पूर्ण कार्यान्वयन गर्न भने नभएको बताए ।

कार्यक्रममा महिला तथा बालबालिका कार्यलय कास्की प्रमुख, लक्ष्मी जिसी कार्कीले कास्की जिल्लामा अझै १३ सय बालबालिका बालश्रमिकका रूपमा रहेको र पछिल्ला दिनमा भ्रुण पहिचान गरी गर्भमै छोरीको हत्या गर्ने दम्पत्तिको संख्या नघटेको बताईन् । कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका संयोजक जानकी शर्माले क्षमता अभिवृद्धि तालिमले बालबालिकालाई बाल अधिकारका बारेमा जिज्ञासा मेट्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक ढाकाराम पौडेलले राज्यको निकायले गर्नुपर्ने कामलाई इन्सेकले गर्नु सरहानिय भएको बताउँदै शिक्षामा हरेक नागरिकको समान पहुँच हुनुपर्नेमा जोड दिए । कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयकी प्रलेख अधिकृत सुमित्रा भट्टराईले स्वागत मन्तव्य राखेकी थिईन् भने सञ्चालन क्षेत्रीय कार्यलयकी कार्यक्रम फोकल पर्सन सवनम शर्माले गरेकी थिईन् ।

कमेन्टहरु
Loading...