पोखरा बृद्धाश्रमको भवन उद्घाटन, छोराछोरीको कमाईमा अभिभावकको हक – मन्त्री खड्का

पोखरा, १३ माघ/महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले छोराछोरीको कमाईको केही अंशमा बाबुआमाको पनि हक स्थापित हुने गरी कानुन बनाउन लागेको बताउनुभएको छ । पोखरा बृद्धाश्रमको नवनिर्मित सुविधाजनक आवास भवनको उद्घाटन गर्दै मन्त्री खड्काले जन्माउने, हुर्काउने, शिक्षा, दिक्षाको व्यवस्था गरी समाजमा योग्य नागरिक बनाउने अभिभावकप्रति छोराछोरीको पनि दायित्व हुनुपर्नेमा जोड दिनुभयो ।

वहाँले छोराछोरीको कमाईको १० प्रतिशत रकम बुबा आमाको जम्मान हुने व्यवस्था कानुनी रुपमा नै व्यवस्था गर्न लागिएको बताउनुभयो ।  वहाँले बालबालिका, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुलाई नयाँ संविधान अनुसार ऐन नियम बनाउने प्रक्रियामा मन्त्रालय लागिरहेको बताउनुभयो ।  पोखरा बृद्धाश्रम ४ नम्बर प्रदेशकै नमुना आश्रमका रुपमा रहेको भन्दै वहाँले ज्येष्ठ नागरिकहरुका लागि थप सेवा सुविधा प्रदान गर्न सरकारका तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही अवसरमा वृद्धाश्रम परिसरमा मन्दिर शिलान्यास गरिएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णप्रसाद लम्सालले मन्दिरको शिलान्यास गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव लम्सालले कसैले घोषणा गर्दैमा नमुना नभईने संस्थाका काम कार्वाही राम्रा भएकाले जगतले नै पोखरा बृद्धाश्रमलाई नमुना आश्रमको रुपमा स्वीकार गरेको धारणा व्यक्त गर्नुभयो । संविधान बनेकाले ज्येष्ठ नागरिकहरुले अधिकारमुखी अवधारणा अनुसार कानुनी रुपमा नै ग्यारेन्टी गर्ने वहाँको भनाई थियो ।

कार्यक्रममा बृद्धाश्रमका उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक टिकाबहादुर भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो निर्माण उपसमितिका सचिव श्यामसुन्दर पराजुलीले भवन निर्माणको लागत विवरण बारे जानकारी दिनुभएको थियो ।
१ करोड २९ लाख ६२ हजारको लागतमा निर्माण सम्पन्न भएको आश्रमको नवनिर्मित भवनमा नेपाल सरकारको तर्फबाट विभिन्न आर्थिक वर्षमा प्राप्त भएको ३९ लाख खर्च भएको सो अवसरमा जानाकारी दिइएको थियो ।

त्यस्तै जिल्ला विकास समिति, कास्कीबाट १ लाख, सांसद चुडामणि जंगलीको संसद विकास कोषबाट १ लाख ५० हजार, सांसद बृन्दा रानामगरले ५० हजार १ सय ५५ रुपैयाँ तथा विभिन्न ३ भन्दा बढी व्यक्ति तथा संस्थाले भवन निर्माणमा सहयोग प्रदान गरेको भवन निर्माण उपसमितिले जनाएको छ । त्यस्तै मन्दिर निर्माणका लागि करिव ८ लाख लगानी हुने र सो का लागि समेत दाताहरुबाट सहयोग प्राप्त हुने विश्वास सो अवसरमा व्यक्त गरिएको थियो ।

कमेन्टहरु
Loading...