९ न्यायाधीशले गरे रेग्मीविरुद्ध सुनुवाइ, अन्तिम निर्णय असार २० मा

६ असार, काठमाडौं । खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै अदालतमा परेको मुद्दामा बिहीबार कायममुकायम प्रधान न्यायाधीशसहित अदालतमा कार्यरत सम्पूर्ण अर्थात, ९ जनै न्यायाधीशले सुनुवाइ गर्नुभएको छ । रेग्मीविरुद्ध परेका सबै मुद्दाको अन्तिम सुनुवाइ असार २० गते हुने भएको छ ।

khilraj-regmi

रेग्मी, एमाओवादी अध्यक्ष प्रचण्ड र राष्ट्रपतिसमेत विरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल र भरतमणि जंगमले दायर गर्नुभएको मुद्दासँगै बाधा अड्काऊ फुकाउको विरोधमा परेका अन्य मुद्दालाईसमेत एकैठाउँ समावेश गरी असार २० गते पेश गर्न सर्वोच्च अदालतले विहीबार आदेश दिएको हो । अन्तिम सुनुवाइमा सर्वोच्चका सबै न्यायाधीशको सहभागिता रहने छ ।

विहीबार भएको सुनुवाइमा कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका साथै न्यायाधीश रामकुमारप्रसाद साह, गिरीशचन्द्र लाल, सुशीला कार्की, प्रकाश वस्ती, वैजनाथ उपाध्याय, तर्कराज भट्ट, ज्ञानेन्द्रबहादुर कार्की र डा. भरतबहादुर कार्की सहभागी हुनुहुन्थ्यो । न्यायाधीश कल्याण श्रेष्ठ विदेशमा हुनुभएकाले इजलासमा सहभागी हुनुभएन । अदालतमा हाल रेग्मीबाहेक १० न्यायाधीश कार्यरत हुनुहुन्छ ।

अदालतका सबै न्यायधीशको सुनुवाइपछि जंगम र अर्याल दुबैले दायर गरेको यो मुद्दालाई बाधा अड्काऊसम्बन्धी अर्को रिटसंगै असार २० गते पेशीमा चढाउन भनिएको हो । रेग्मीलाई सरकार प्रमुख बनाउन हुँदैन भन्दै जंगमले गत फागुन १५ मा राष्ट्रपतिसमेतलाई विपक्षी बनाई दायर गरेको मुद्दालाई यसअघि नै अग्राधिकारमा राख्ने निर्णय भैसकेको छ । त्यस्तै गत फागुन २३ गते अधिवक्ता अर्यालले दायर गर्नुभएको रिटलाई समेत अदालतले सँगै राखेर हेर्दै आएको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/84199/#sthash.zpK93EMw.dpuf

कमेन्टहरु
Loading...