सहारा क्लब १५ औं आहा रारा गोल्डकपको फाईनलमा

पोखरा, १२ माघ /विभागीय टिम नेपाली सेनाको त्रिभुन आर्मी क्लबलाई टाईब्रेकरमा हराउदै आयोजक सहारा क्लब पोखरामा जारी १५ औं आहा रारा गोल्डकपको फाइनमा प्रबेश गरेको छ ।

आर्मीलाई टाईब्रेकरमा ४—३ गोल अन्तरले हराउदै आयोजकको टिम फाईनलमा पुगेको हो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय गोल रहित बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटको आधारमा नतिजा निकालिएको हो । आर्मीका गोलकिपर विकेश कुथु र दिपक गुरुङ्गको प्रहार सहाराका गोल रक्षक सुजीत गुरुङ्गले रोके र आयोजकको टिमलाई फाइनलमा पुर्याए ।

जितेन्द्र कार्की, सन्तोष तामाङ्ग र दिप कुमार लामाले जाली चुमाएपनि विकेश र दिपक चुक्दा यसअघि तीन पटकको उपविजेता आर्मी घर फर्किन बाध्य भयो । पेनाल्टी सुटआटमा सहाराका लक्ष्मण जिसी चुकेपनि शिव सुवेदी, सुहान गुरुङ्ग, प्रदिप गुरुङ्ग र उत्तम गुरुङ्गको प्रहार गोलमा परिणत भयो । यो सँगै सहाराले अघिल्लो बर्षको सेमिफाइनलमा ब्यहोरेको हारको बदला लिएको छ ।

अतिरिक्त समयको दोस्रो हाफ सकिनै लाग्दा आर्मीका क्याप्टेन भरत खवासलाई लडाएपछि रातो कार्ड खादै सहाराका विदेशी खेलाडी बबी वग्ला मैदानबाट वाहिरिए । १० खेलाडीमा सिमित भएको सहारा क्लबले खेललाई टाइब्रेकरमा धकेल्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

आहा रारा गोल्डकपमा आयोजकको टिम फाईनल पुगेको यो तेस्रो पटक हो । १२ औं आहा १ रारा गोल्डकपको विजेता सहारा क्लब ११ औं संस्करणको उपविजेता टिम हो । यसअघि सहाराले आर्मीलाई १२ औं आहा १ रारा गोल्डकपको सेमिफाइनलमा पनि टाईब्रेकरमै हराएको थियो । आजको विजेता सहाराले अव उपाधिका लागि माघ १५ गते मनाङमस्र्याङदी र संकटा क्लव विच भोलि हुने खेलको विजेतासँग प्रतिश्पर्धा गर्नेछ ।

कमेन्टहरु
Loading...