मुस्ताङ, ९ माघ /धौलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले गत बिहीबारदेखि जोमसोम–काठमाडौँ सिधा रात्रि डिलक्स बस सेवा सञ्चालनमा ल्याएको छ। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउँदै आएको सिन्डिकेट हटेको छ ।
यो सेवा म्याग्दी सदरमुकाम बेनीसम्म रहेकामा स्थानीय यातायात व्यवसायीको सहकार्यमै जोमसोमसम्म विस्तार गरिएको हो । मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी काठमाडौँबाट हरेक दिन दुई वटा रात्रि बस सेवा सुरु गरिएको व्यवसायीले बताएका छन् ।
‘ट्र्याक’ खुलेदेखि नै म्याग्दी र मुस्ताङ जिप तथा बस सञ्चालक समिति मातहतका सवारी साधनमात्रै सञ्चालन हुने ७६ किलोमिटर बेनी–जोमसोम सडकमा अहिले बेनी, पोखरा र काठमाडौँबाट जोमसोमसम्म सिधा यात्रुबाहक बस तथा जिप सञ्चालनमा आएका छन्। एक वर्षदेखि म्याग्दी र मुस्ताङ समितिले हरेक दिन बेनीदेखि जोमसोमसम्म सिधा यात्रुबाहक बस सञ्चालन गरिरहेको छ ।