प्रचण्डको विकासे मोडेल : शहरलाई गाउँजस्तो बनाउने !

५ असार, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले कहिलेकाँहि आफ्नो दस्तावेजमा उट्पट्याङ कुरा लेख्नुहुन्छ । विगत हेटौडा महाधिवेशनका बेला प्रचण्डको आफ्नो दस्ताबेजमा सीमानामा जनमत संग्रह गर्ने उल्लेख गर्नुभएको थियो ।

imageप्रचण्डको सो प्रस्ताव केन्द्रीय समितिले पारितसमेत गरेको थियो । तर, मिडियामा त्यसबारे प्रतिक्रिया आएपछि पार्टीले त्यसलाई हटायो । अहिले फरि प्रचण्डले आफ्नो उत्पादनसम्बन्धी प्रतिवेदनमा अर्को हास्यास्पद वाक्य लेख्नुभएको छ । अध्यक्ष प्रचण्डले विकासको नयाँ मोडेल भन्दै शहरलाई गाउँजस्तो बनाउने उल्लेख गर्नुभएको छ ।

‘नेपाली समाजको नयाँ यात्रा शुरु हुनुपर्छ । दृष्टान्तका लागि शहर गाउँजस्तो र गाउँलाई शहरजस्तो कसरी बनाउने ?’ प्रचण्डको दस्तावेजको पहिलो पृष्ठकै छैठौं नम्बर बुँदामा भनिएको छ,- यस सन्दर्भमा एकीकृत विकास नीति बनाइने छ ।’ प्रचण्डले शहरलाई गाउँजस्तो बनाउने भनेपछि पेरिसडाँडा बैठकमा ब्यूरोस्तरीय छलफल हुँदा केन्द्रीय सदस्यहरुले प्रश्न उठाए- ‘गाउँलाई शहरजस्तो बनाउने कुरा त ठीकै हो तर अध्यक्ष ज्यूले शहरलाई गाउँजस्तो चाहिँ कसरी बनाउने ? के शहरका सबै घर भत्काएर उजाड बनाउने ? शहरलाई गाउँजस्तो बनाएर कसरी विकास हुन्छ ?’

एमाओवादीका एक केन्द्रीय नेताले अनलाइनखबरलाई दिएको जानकारीअनुसार बैठकमा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा अध्यक्ष प्रचण्डले साथीहरुले दस्तावेज लेख्दा त्यस्तो त्रुटी गरेको बताउनुभएको थियो । ‘ मलाई फुर्सद भएन, साथीहरुले त्यस्तो लेख्नुभएछ ।’ – प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले भने । प्रचण्डको जवाफबाट नेताहरु सन्तुष्ट भने नबनेको उनले बताए । जिम्मा लिएको काम नगर्ने अरुलाई लगाएर प्रचण्डले पन्छिन नमिल्ने नेताहरुको गुनासो छ । यद्यपि प्रचण्डले त्यस्तो वाक्य कसले लेखेको भन्ने चाहिँ खुलासा नगरेको स्रोतले बतायो । विगतमा सीमानामा जनमत संग्रह गर्ने विषय पनि कसले लेखेको हो भन्ने अझैसम्म खुलेको छैन । एमाओवादी अध्यक्ष प्रचण्डले अघि सारेको शहरलाई गाउँजस्तो बनाउने प्रस्तावका साथै केन्द्रीय समितिको पूर्णता एवं चुनावी रणनीतिबारे असार १३ गते केन्द्रीय समितिमा छलफल हुँदैछ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/83886/#sthash.60JMIrTG.dpuf

कमेन्टहरु
Loading...