पाँच पटकको विजेता पुलिसलाई हराउदै संकटा आहा गोल्डकपको क्वार्टरफाइनलमा

पोखरा, ७ माघ /आहा राराको पाँच पटकको विजेता नेपाल पुलिस क्लबलाई हराउदै संकटा क्लब पोखरामा जारी १५ औ आहा राराको अन्तिम आठमा  प्रबेश गरेको छ । खेल सकिन ३ मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी अनिल गुरुङले गोल गरेपछि सिएमजी क्लब संकटा विभागिय टोली पुलिसलाई २–१ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो।

१–० ले पछि परेको खेल उल्टाउँदै संकटा अन्तिम आठमा पुगेको हो । आहाको सर्वाधिक सफल टोली पुलिस लगातार दोस्रो पटक पहिलो चरणबाटै बाहिरिएको छ । यो सँगै क्वार्टरफाइनल समिकरण पुरा भएको छ ।

रिबाउन्डमा प्राप्त बलमा ६१ औं मिनेटमा मैदान प्रवेश गरेका अनिलले नजिकबाट गोल गरेका थिए र त्यहि गोल निर्णायक बनेको थियो । विश्व अधिकारीको प्रहार पुलिसका गोलकिपर दीपेश यादवले रोके, उनले पूर्ण नियन्त्रणमा लिन नसकेपछि प्राप्त बलमा अनिलले गोल गरेका हुन् ।

त्यसअघि रवि पासवानले ३५ औं मिनेटमा गरेको गोलमा पाँच पटकको च्याम्पियन पुलिसले अग्रता लिएको थियो । ्७३ औं मिनेटमा संकटा बराबरी गोल गर्दै खेलमा फर्केको थियो । झन्डै ३० यार्डमा पाएको फ्रिकिकलाई विश्व अधिकारीले सोझै गोलमा परिणत गरेपछि संकटाले खेलमा बराबरी गरेको थियो । विश्व खेलेको म्यान अफ दी म्याच घोषित भए । शनिवारको पहिलो क्वार्टरफाइनल सहाराविरुद्ध सिक्किम युनाइटेड, भारत बिच हुने छ ।

कमेन्टहरु
Loading...