गिलुङमा कोइचो देवी कप सुरु

पोखरा, ४ माघ /लमजुङको गिलुङस्थित मिलन युवा क्लबको आयोजनामा ‘खुल्ला कोइचो देवी कप पुरुष तथा महिला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धोदय माविको ४२औं वार्षिकोत्सवको अवसरमा मंगलबारदेखि विद्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । एन्फा उपाध्यक्ष मीलन गुरुङले प्रतियोगिताको उद्घाटन गरे ।

प्रतियोगिताको पहिलो दिन पुरुष फुटबलतर्फ चार खेल सम्पन्न भएका छन् । पहिलो खेलमा घामराङ पहेलोले गिलुङ ‘ए’ लाई २ को विरुद्ध ४ गोल गर्दै पराजित गरेको छ । दोस्रो खेलमा घामराङ सेतोले गिलुङ ‘बी’ लाई ४–२ गोल अन्तरले नै हरायो । डढुवा निलो र बुद्धोदय माविबीच भएको खेलमा १ का विरुद्ध १० गोल गर्दै डढुवा निलो विजयी भएको छ । चौंथो खेलमा नाल्मा फुटबल क्लबले अन्डर सिक्सटिन गिलुङलाई ४–१ ले हराएको छ ।

पहिलो, दोस्रो, तेस्रो र चौंथो खेलमा क्रमश गिलुङ ‘ए’का अभिषेक गुरुङ, घामराङ सेतोका मीनबहादुर गुरुङ, बुद्धोदय मापिवका होमबहादुर तामाङ र नाल्माका सुदीप गुरुङ म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बुधबार टक्सार निलो र घिचे फुटबल क्लब, डढुवा रातो र सिसुवा फुटबल क्लब, कमेरे र गिलुङ ‘सी’, टक्सार रातो र मपिङबीच खेल हुने आयोजक क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

प्रतियोगितामा पुरुष फुटबलतर्फ प्रथम हुने टिमलाई नगद ६० हजार रुपैयाँ, रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । दोस्रो हुने टिमले नगद ४० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउने छ । महिला फुटबलतर्फ भने प्रथम हुने टिमले नगद २० हजार रुपैयाँ, रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताइएको छ । दोस्रो हुनेले १० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र पाउने छ । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषणा गर्ने बताइएको छ । प्रतियोगिताको सहआयोजक गिलुङ समाज युके, गिलुङ समाज हङकङ, गिलुङ गाउँ विकास समिति र गिलुङ गाउँ सुधार सहयोग समिति पोखरा हुन् ।

कमेन्टहरु
Loading...